साताव्यापी सीता-राम विवाह पञ्चमीको अन्तिम दिन आज जानकी मन्दिरमा जन्तीलाई भोजन गराएर ‘रामकलेवा’ मनाइएको छ ।
विवाहपछि मिथिलामा बेहुलालाई खिर, मिठाई लगायतका परिकार खुवाउने परम्परा छ । अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्त र भगवान श्रीराम लक्ष्मणसहित चारै भाइको प्रतीकको रुपमा सजिएका बालकलाई समेत खिर, मिठाईसहित विशेष भोजन गराइएको छ ।
जन्तीको रूपमा आएका साधुसन्तलाई भोजन गराएर दान र दक्षिणासहित सम्मानपूर्वक बिदाई गर्नुलाई ‘रामकलेवा’ भन्ने गरिन्छ ।
सो अवसरमा गीतनाद चल्यो । मिथिलाकी नारी र जनकपुरका साधुसन्तहरु जन्तीबीच ख्यालठट्टा र मजाक भयो । हास्यपरिहासको माहोलले जानकी मन्दिरको वातावरणलाई रोमाञ्चक बनायो । यो विधि हेर्न ठूलो संख्यामा श्रद्धालु उपस्थित थिए ।
जन्तीलाई भोजन खुवाएर कम्बल, माला जप्ने सानो ब्याग र एक सय रुपैयाँका दरले दक्षिणा दिएर बिदाई गरिने जानकी मन्दिरका छोटा महन्त रामरोषण दास वैष्णवले जानकारी दिए ।
त्रेता युगमा मंसिर शुक्ल पञ्चमीको तिथिमा भगवान श्रीराम र सीताबीच विवाह भएको सम्झनामा जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सव मनाइन्छ । यस वर्ष श्रीराम जन्मभूमि भारतको अयोध्याबाट करिब ५०० जना जन्ती आएका थिए ।
रामकलेवासँगै विवाह पञ्चमी विधिवत सम्पन्न भएको छ । रातिसम्म जताततै श्रद्धालुले भरिएको जनकपुरधाम खाली हुन थालेको छ ।