२०८१ मंसिर २३, आईतवार ०७:५३

बलीप्रदानका लागि प्रसिद्ध गढीमाई मन्दिरमा आइतबारदेखि बली प्रदान शुरु हुनेछ । मन्दिरका पुजारी मंगल थारु चौधरीले जनाए अनुसार मन्दिरमा पञ्चबली प्रदान भएपछि राँगाको बली दिइने छ ।

मुसा, बंगुर, कुखुरा, बोका र राँगाको पञ्चबली दिने छ । पञ्चबली प्रदान गरिएपछि राँगाको बली प्रदान गरिनेछ । बली का लागि राँगाहरुलाई पशुबध शालामा राख्न थालिएको छ । ३० हजार बढी राँगाको बली दिने अनुमान मेला आयोजक समितिले गरेको छ । सिनो फाल्न स्थानीय दलितहरु(चमार)ले अस्वीकार गरेका छन् । उनी पछिल्लो तीन मेलादेखि सिनो फाल्न अस्विकार गर्दै आएका छन् ।

पशु बधशालामा राँगा राख्ने र त्यस भित्र नै बली दिने गरिन्छ । सामूहिक रुपमा नै दलितहरुले सिनो नफाल्ने बताएपनि केहिले सिनो फाल्ने र बढी राँगाको मासु बिभिन्न निकायहरुलाई बिक्री गरिने बताइएको छ । नेपालको सर्वोच्च अदालतले गरेको आदेशमा गढीमाई मन्दिरमा बली प्रदान घटाउँदै लग्नुपर्ने उल्लेख छ ।

जानवर अधिकार सम्बद्ध विभिन्न संघसंस्थाहरुले बली को विरोध गर्दै आएका छन् । भारतको सर्वोच्च अदालतले पनि भारतीय भूमिबाट नेपालमा बलीका लागि लगिने राँगा, बोका, भेँडा, परेवा, कुखुरा लगायतका जनावर र पंक्षी लग्न रोक लगाउन आदेश जारी गरेको थियो । त्यो आदेश अद्यावधि कायमै छ ।

भारतबाट ल्याइने बलीका बोका, राँगा लगायतका जनावरमा सीमाक्षेत्रमा रोक लगाइएको छ । स्थानीय वासिन्दाहरुका अनुसार रक्सौल प्रहरीलगायत भारतीय सिमा क्षेत्रका प्रहरीद्वारा महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपँक्षीलाई नियन्त्रणमा लिएको छ । मेला ब्यवस्थापन समितिले भारतबाट बलीका लागि ल्याइने राँगा लगायतको पशुपँक्षीमा रोक नलगाउन सहजीकरण गरेका थिए । तर बलीका लागि राँगा र बोकालगायतका पशुपँक्षीलाई ल्याउन पूर्वसन्ध्यामा बोर्डरमा कडाइ गरिएको छ ।

भारतीय सशस्त्र सीमा बलले र भारतीय प्रहरीले नियन्त्रणमा लिएको पशुपंक्षीहरु आइतबार बिहानसम्म नेपाल आइपुग्ने मेला व्यवस्थापन समितिले दाबी गरेको छ । नेपालमा भने बली प्रदानमा कुनै प्रकारको अवरोध छैन । पहिलो दिन आइतबार राँगाको बली र सोमवार बोका, बंगुर, परेवा, कुखुरालगायतको बली दिने साइत निर्धारण गरिएको छ । गढीमाई मेलामा प्रमुख रुपमा दुई दिन मात्र बली प्रदान गरिन्छ । राँगाको बली बधशालामा दिए पनि बोका, बंगुर, परेवा, कुखुरालगायतको बली सीमा क्षेत्रको कुनै स्थानमा दिने गरिन्छ । त्यसका लागि ठूलो संख्यामा स्वयंसेवकहरु बली दिने हतियारसहित सीमा क्षेत्र भरी घुमिरहेका हुन्छन् ।

मन्दिर परिसरमा अत्यधिक भीड रहने भएकाले सीमामा पुगेकै स्थानमा बली दिने व्यवस्था गरिएको मेला आयोजक समितिले जनाएको छ । मेलालाई व्यवस्थित र भीडलाई नियन्त्रण गर्न भारी संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । गढीमाई मेलामा बली को दिन अत्यधिक भीड हुने भएकाले त्यसको व्यवस्थापन गरिसकिएको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणी आचार्यले जनाए । ‘सुरक्षाको सम्पूर्ण व्यवस्था भइसकेको छ ’उनले भने, सादा र वर्दीमा प्रहरी परिचालन गरी शान्ति सुरक्षालाई सुदृढ बनाइएको छ ।

गढीमाई मेलामा नेपाल र भारतका अतिरिक्त अन्य देशबाट पनि मेला भर्न मानिसहरु आउने गरेका छन् । गढीमाईमा भाकल पूरा भएपछि बली प्रदान गरिने चलन छ । पाँच वर्षमा धेरै मानिसले गढीमाईमा बली दिने भाकल गर्ने भएकाले मेलामा अत्यधिक बली प्रदान हुने गरेको बताइन्छ । गढीमाई मेला लगाउन सयौँ बिघा खेतको धान काटिसकिएको छ ।

मेला वरिपरिका खेतमा गहुँ, दलहन, तेलहन लगायतका बाली लगाइदैन । चाँडै पाक्ने जातको धान रोपेर कार्तिकमै काट्ने गरिन्छ । मेलामा विभिन्न प्रकारको खेल सामग्रीहरु राखिएका छन् । आयोजक समितिको अनुसार शनिबार सम्म २५ लाख बढी मानिसहरुले मेलामा दर्शन गरिसकेका छन् । बली प्रदान हुने दुई दिन त्यो संख्यामा अत्यधिक वृद्धि हुने समितिको दाबी छ ।

५ सयमा विशेष दर्शन

गढीमाई मेलामा भीड अत्यधिक बढेपछि मेला व्यवस्थापन समितिले ‘सुगम दर्शन’को व्यवस्था गरेको छ ।

भीडमा लामो लाइन लागेर दर्शन गर्न नचाहनेहरुका लागि ‘सुगम दर्शन’को व्यवस्था गरिएको छ । पाँच सय रुपैयाँको रसिद काटेर सोझै मन्दिरमा दर्शनको व्यवस्था मिलाइएकोले प्रायः श्रद्धालुहरु त्यसको लाभ लिइरहेको मेला समितिले जनाएको छ । मेलामा लाखौँ मानिसको सहभागिता हुने र सबैले दर्शन गर्ने भएको हुँदा मन्दिरसम्म लाइन लागेर जान केही समय लाग्नु स्वभाविक भएको समितिले बताउँदै सहज रुपमा दर्शन गर्नेहरुले अनिवार्य रुपमा पाँच सयको रसिद कटाउनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

पाँच सय रुपैयाँको रसिद काटेर सहज रुपमा दर्शनको व्यवस्था हुँदा श्रद्धालुलाई पनि सुगम र मन्दिरलाई आर्थिक सहयोग प्राप्त भइरहेको छ । भारतलगायत नेपालकै केही ठूला मन्दिर हरुमा ‘शीघ्र दर्शन र विशेष पुजा’का लागि शुल्क निर्धारण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News