सीताराम विवाहपञ्चमीसंग नासो रहेको ऐतिहासिक र धार्मिक महत्व बोकेको मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्नका लागि सीतापुष्प वाटिका मणिमण्डपको निर्माण योजनाको अलपत्र नै परेको छ ।
जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका– १३ रानी बजारस्थित सुरु गरिएको सीतापुष्प वाटिका योजनाको काम तीन वर्षमा सम्पन्न गर्नुपर्नेमा साढे ६ वर्ष वितिसक्दा पनि अधुरै छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयमा काम सम्पन्न भएको छैन ।
साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सवमा पनि सक्कली मणिमण्डपलाई सरोकारवालले उपेक्षा गर्दै आएको छ । संघ सरकारले २०७५ सालमा जनकपुरधामको ऐतिहासिक महत्वलाई उजागर गर्न सीताराम विवाह मण्मिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न सीतापुष्प वाटिका निर्माण थालनी गरेको थियो ।
प्राचीण रामायणकालीन मिथिला सभ्यता र प्रकृतिको सामञ्जस्य झल्काउने प्रतिवद्धता जनाए पनि अहिलेसम्म निर्माण कार्य सुस्तरुपमै भइरहेको छ । २०७५ सालमा काठमाण्डुको रबिना कन्स्ट्रक्सन कम्पनी लिमिटेडले वाटिकाअन्तर्गतका भौतिक निर्माणको ठेक्का पाएको थियो । सम्झौता अनुसार २०७८ साल जेठ २४ गतेसम्म तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर पहिलो सम्झौता मिति सकिए तीन वर्षभन्दा बढी हुँदा पनि निर्माण कार्य अझैसम्म पनि हुन सकेको छैन ।
निर्माण कार्य भइरहेको भन्दै कम्पनीले विभिन्न कारण देखाउँदै पटक पटक म्याद थप गर्दै आएको छ । संघीय सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामअन्तर्गत २०७५ सालमा भ्याटबाहेक १८ करोड १५ लाख २२ हजार ७९३ रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ । तर कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना सम्पन्न हुन नसकेको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका कार्यालय प्रमुख विनोदकुमार यादवले जानकारी दिए । उनले कम्पनीलाई पटक–पटक ताकेता गरेपनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताए । उनले निर्माण कम्पनीलाई वैशाखदेखि मंसिरसम्म कयौँ पटक लिखित रूपमै ताकेता गरेको बताए । उनले भने, ‘ कम्पनीलाई पटक–पटक ताकेता गरेपनि कुनै प्रतिक्रिया छैन, टेन्डर लिने अनि पेटी ठेकेदारलाई काम दिने हुँदा समयमा काम सम्पन्न हुन सकेको छैन ।’ कम्पनीले निर्माणका लागि म्याद थपेको समय मंसिर २२ मा समाप्त हुने र त्यसपछि जरिवाना लाग्नेछ भने अहिलेसम्म वाटिकाको निर्माणको काम भौतिकतर्फ ८० प्रतिशत र वित्तीयतर्फ सम्झौता रकमको ७६ प्रतिशत प्रगति भएको प्रमुख यादवले बताए ।
स्थानीयहरुले प्राचिनकालीन रामसीता विवाह स्थल मणिमण्डप ओझेलमा परेको बताउँछन् । स्थानीयवासी कृष्ण साहले भने, ‘हेर्नुस् विवाह पञ्चमी महोत्सवमा जानकी मन्दिर भरिभराउन छ तर, यहाँ आक्कल झुक्कल पर्यटक मात्र आएका छन्, प्राचीनकालमा विवाह भएको स्थल मणिमण्डप हो ।’ त्रेता युगमा राम र सीताको विवाह भएको स्थान मणिमण्डपको अवस्था अझैसम्म पनि सुधार नहुँदा पर्यटकहरूको आगमनमा वृद्धि हुन सकेको छैन ।
सो योजनाले मणिमण्डपलाई वैवाहिक गन्तव्यको रूपमा विकास हुँदा पर्यटकीय गन्तव्य बनाउन ठुलो टेवा पुग्ने छ । तर योजना समयमा सम्पन्न नहुँदा निराशा छाएको मणिमडपका पुजारी नवल दासको भनाइ छ । उनले प्राक्कालीन धार्मिक स्थल ओझेलमा परेको बताउँदै कुनै सरकारको नजरमा मणिमण्डप नपरेको गुनासो गरे । विवाह स्थल मणिमण्डपलाई विकास गर्न नसकिएको प्रति मन्दिरका पुजारी नबल दासले भने, ‘बेला बखत भारतीय पर्यटकहरू आगमन हुन्छ, नत्र भने अन्य पर्यटकहरूको आगमन यहाँ हुन सकेको छैन ।
कतिपयलाई यस स्थानको बारेमा जानकारी नै छैन । जानकी मन्दिरको छेउमा बनाइएको विवाह मण्डपको छायामा रामसीताको वास्तविक विवाह भएको स्थान मणिमण्डप ओझेलमा परेका छ । लामो समयको अन्तरालमा मणिमण्डपमा निर्माण हुन थालेको जनक दरबार र धर्मशाला निर्माणमा भएको ढिलासुस्तीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।’ उनले यो ऐतिहासिक विवाह स्थल भएको बताए । कम्पनीका तर्फबाट साइट इन्जिनियर सुनिलकुमार सिंहले योजनाअन्तर्गत स्यानीटरी, विद्युतीय जडान, झ्यालमा सिसा राख्ने र रंगरोगनको काम मात्र बाँकी रहेको बताए । उनले कोरोनाका कारण समयमा सामान उपलब्ध नहुँदा काम समयमा सम्पन्न हुन नसेको जानकारी दिए ।
दुई विघा क्षेत्रफलमा फैलिएको सीतापुष्पा वाटिका मणिमण्डप योजनाअन्तर्गत मणिमण्डप परिसरभित्र दुईतल्ले जनक दरबारको प्रति मूर्तिसहित दुई तल्ले भवन, धर्मशाला, स्वयंवर मण्डप, दुई वटा प्याभिलियन, मन्दिर र पसलका लागि आठ सटरलगायत भौतिक संरचनाहरू रहेका छन् । सरोकारवालले शुरुदेखि नै गर्दै आएको उपेक्षाको कारण सो क्षेत्र अतिक्रमण समेत भइरहेको स्थानीयहरुको भनाइ छ ।