गढीमाई मेला आइतवार उत्कर्षमा पुगेको छ । मेला आयोजकका अनुसार ७ हजार बढी राँगाको बली प्रदान गरिएको छ ।
राँगाको भन्दा बोकाको बली बढी दिने गरिन्छ । बोका, परेवा, भेँडा, कुखुराको बली सोमवार दिने मेला व्यवस्थापन समितिले जनाएको छ । लाखौ श्रद्धालुहरुले खचाखच भएको गढीमाई क्षेत्रमा बास, पानी, शौचालय लगायतको व्यवस्था अस्तव्यस्त भएको छ ।
सोमवार सबेरैदेखि बोकाको बली प्रदान गरिने भएकोले श्रद्धालुहरुको भीड उर्लिएको छ ।बोकाको बली प्रदानगरि श्रद्धालुहरुले नै प्रसादको रुपमा बली दिएको बोका लिएर जाने गर्छन् ।सोमवार मध्यान्हदेखि भीड कम हुने मेला व्यवस्थापन समितिले अनुमान गरेको छ । बली प्रदान गरिएको राँगा बितरण गर्ने बताइएपनि आन्तरिक रुपमा त्यसको ठेक्का लगाइएको छ । राँगालाई ट्रकमा राखेर राति नै विभिन्न सहरहरुमा लगिने बताइएको छ ।
मेला भर्न आउने श्रद्धालुहरुलाई गढीमाई मन्दिर नजिक सम्म पुग्न कयौं घण्टा लाग्ने गरेको छ । गढीमाई मन्दिर जाने सबै मार्गहरु जाम भएका छन् । कलैया बजार वरिपरि सवारी साधन पार्किँग गर्नपनि स्थानाभाव भएको छ । ६/७ किलोमिटर भन्दा बढी दुरी पैदल तय गर्नु परिरहेको छ । गढीमाई पुग्ने बाटोको ज्ञान नभएका श्रद्धालुहरु बाटो बिराएर घण्टौ अलपत्र परिरहेका छन् ।
पूर्वपश्चिम राजमार्गबाट दर्जन बढी मार्ग विभिन्न गाउँ र जंगल भएर गढीमाई सम्म पुग्छन् ।तर सही बाटोको पहिचान गर्न नसक्दा श्रद्धालुहरु अलपत्र परिरहेका छन् । बोका बली दिने र दर्शन पूजा गर्ने श्रद्धालुहरुको भीड बढी नै रहेको छ ।नेपालको विभिन्न जिल्ला र भारतको विभिन्न स्थानबाट बली दिन र मेला भर्न आउनेहरुले गर्दा सबै सडकमा मानिसको भीड देखिन्छ । मेला व्यवस्थापन समितिले पार्किंगका लागि छुट्टयाएको स्थानहरुमा समेत मानिसकै भीडभाड रहेको छ ।
बोका बली प्रदान गर्ने धेरैले गढीमाई क्षेत्रमा नै पकाएर खाने गर्छन् । त्यसकारण पनि भीड बढेको बताइन्छ ।बली दिन मन्दिर सम्म अत्यन्त कठिनाई रहेकाले सीमा क्षेत्र भित्र घुम्ने स्वयंसेवकहरुले ठाउँको ठाउँ नै बली दिने गरेका छन् । भीडको कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको स्थानीयहरुले बताएका छन् ।निजी घर बारीमा पनि मानिसहरु रात काटिरहेका छन् ।
बोकालाई रातो रंगको लुगा ओढाएर श्रद्धालुहरु सोमवार बिहानको प्रतीक्षा गरिरहेका छन् । मन्दिरको मुख्य पुजारी मंगल थारुले आइतवार बिहान पञ्चबली दिएर गढीमाईको बली प्रदान शुभारम्भ गरेका थिए ।मुसा, कुखुरा, बोका, राँगा र बंगुरको पञ्चबली दिइन्छ । अत्यधिक भीडको कारण पाँच सयमा गराइने ‘सुलभ दर्शन’ समेत अस्तव्यस्त भएको छ ।
भीडको व्यवस्थापन गर्न सुरक्षाकर्मी र स्वयंसेवकहरुलाई हम्मेहम्मे भइरहेको छ ।कयौं लाख मानिस गढीमाई क्षेत्रमा पुगिसकेको बताइएपनि संख्या ५ लाख भन्दा बढी रहेको दावी गरिएको छ । गढीमाई मेला पाँच वर्षमा लाग्ने गरेको छ । यद्यपि दर्शन पूजा बाह्रै महिना चलिरहन्छ ।पञ्चवर्षीय मेलामा मात्र बली प्रदान गर्ने चलन छ ।
४ वर्ष भाकल गर्नेहरुले पाँचौ वर्षमा बली चढाउने गर्छन् ।गढीमाईमा भाकल गरेको फल प्राप्ति हुने विश्वास छ । गढीमाई मन्दिर रौतहट जिल्लामा पनि रहेको छ ।तर मुख्य रुपमा बारा जिल्लाको बरियारपुरमा अवस्थित गढीमाई मन्दिरमा नै ठूलो मेला लाग्ने र भारी संख्यामा बली प्रदान गरिन्छ ।
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतले छुट्टाछुट्टै गरेको फैसलामा बली प्रदान नगर्न भनिएको छ ।बली प्रदानलाई रोक्न दुई देशको सर्वोच्च अदालतको आदेशलाई भने श्रद्धालुहरुले अवज्ञा गर्दै आएका छन् । मानिसको आस्थासित जोडिएकाले बली रोक्न सहज नरहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।उनीहरुले बली संख्यात्मक रुपमा हरेक मेलामा बढेको दावी गर्छन् ।सोमवार बोका बली भएपछि गढीमाई मन्दिरमा फेरि अर्को पाँच वर्षपछि मंसिरमा नै बली प्रदान हुनेछ ।