सर्लाहीमा दिउँसोपख पनि पारिलो घाम लाग्न छाडेर चिसो बढेको छ ।
यहाँ साँझ–बिहान र रातको समयमा चिसो बढ्दो छ । विगत केही दिनदेखि दिउँसोपख समेत घाम लाग्न छाडेपछि चिसो बढेको हो ।अधिक जाडो हुने महिना पुस नजिकिँदै गर्दा बढ्दो चिसोले गरिबगुरुवालाई चिन्ता थपिएको छ ।
सर्लाहीजस्तो मधेशमा धेरै परिवारमा शरीर ढाक्ने न्यानो कपडा र रातिको ओढ्नेओछ्याउने छैन् । धेरै विपन्न परिवारका मानिस अहिले पनि पराल ओछ्याएर सुत्ने र घुर ताप्नुपर्ने अवस्थामा छन् । चिसो बढ्दा दैनिक मजदुरी गर्नेलाई पनि विस्तारै गाह्रो पर्न थालेको छ ।हुस्सु लागेर शित झरी चिसो बढ्दै जाँदा ग्रामीण भेगका किसानलाई वस्तुभाउ सुरक्षितसँग राख्न समस्या परेको किसानले बताएका छन् ।
चिकित्सकले यो चिसोमा वृद्धवृद्धा, दीर्घ रोगी, बालबालिका, अशक्तलगायतलाई चिसोको संक्रमण गढ्ने भएकाले ख्याल गर्न आग्रह गरेका छन् । अहिले चिसोसँगै धुलो, धुँवाको प्रदुषण पनि उत्तिकै छ । कच्ची ग्रामीण सडकमा यात्रु र सडक छेउछाउ घर भएकाहरुलाई धुलाले सास्ती दिइरहेको हाम्रा संवाददाताले जनाएका छन् ।बाक्लो हुस्सु र शितका कारण आलु, गोलभेँडालगायतका बालीनाली तथा तरकारीमा ठण्डीले भेट्न थालेसँगै किसानले औषधिको प्रयोग गर्न थालेका छन् ।