जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दालाई मेलमिलापमा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उक्त मुद्दामाथि सुनुवाइ गर्दै मेलमिलापमा पठाउने आदेश गरेको छ । सीके राउतकी श्रीमती सोनीको तर्फबाट कानुन व्यवसायीले राउतको जग्गाजमिनसहित सम्पत्ति विवरण मगाउन इजलाससमक्ष माग गरेका थिए ।२०८१ भदौ १२ गते राउतले श्रीमती सोनी सिन्धु रानीलाई प्रतिवादी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेका थिए । ’सन्तान समेत आफूसँगै राख्न पाउने गरी अंश दिलाई सम्बन्धविच्छेद गराईपाऊँ’ भन्ने उनको माग दाबी थियो । तर, उनकी श्रीमती सोनीले आफूले सम्बन्धविच्छेद नचाहेको भन्दै प्रत्युत्तर दिएकी थिइन् ।
गत कात्तिक २५ गते र मंसिर ९ गते न्यायाधीश पुनाराम खनालको इजलासमा उक्त मुद्दाको पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । तर, आइतबार मुद्दामा सुनुवाइ गर्दै मेलमिलापका लागि पठाउने आदेश भएको छ । मुद्दा दायर भएर जिल्ला भ्रमणमा गएका राउत काठमाडौं फर्किएपछि छुट्टै कोठा भाडा लिएर बसिरहेका छन् भने उनकी श्रीमती सोनी ललिता यादवको नाममा रहेको पुरानै घरमा बसिरहेकी छन् ।
दुवैजनाले एकअर्काविरुद्ध प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलले तत्कालका लागि विवाद साम्य पारेको थियो । राउतले आफ्नो तलब ६५ हजार रुपैयाँ मात्र रहेकाले आधा तलब दिने भन्दै मासिक ३३ हजार रुपैयाँ श्रीमतीको बैंक खातामा पठाउने गरेका छन् ।तर, उक्त रकमले बालबच्चा पालनसहितको खर्च धान्न नसकिएको सोनीको गुनासो छ ।
‘निहालसिंह राजपूत नाम गरेका जनमत पार्टीका कार्यकर्ताले मेरो जासुसी गर्ने गरेका छन्,’ उनले थपिन्, ’त्यसबाहेक बा ९७ प ६७५३ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले पनि मेरो पिछा गर्दै फोटो/भिडियो खिचेर लगेका छन् ।’ ती व्यक्तिलाई निहालसिंह राजपूतले नै परिचालन गरेको उनको आरोप छ । अदालतबाट मेलमिलापको आदेश भएपछि मेलमिलाप हुने आशा जागेको उनको प्रतिक्रिया छ ।