२०८१ मंसिर २५, मंगलवार ०९:२२

बाराको महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षको अन्तरमा मंसिरमा लाग्ने पशुपंक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलाको चहलपहल बढेको छ ।

आइतबारदेखि मेलामा दिइने बली र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रंगीचंगी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् ।

यस क्षेत्रका सर्वसाधारणले यो मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् । मन्दिर भरिभराउ हुन थालेका छन् । सडक र मेलामा भीड बढेको छ । शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले गढीमाईको ख्याति फराकिलो बन्दै गएको क्रमसँगै मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । यसैगरी मधेश प्रदेश सरकारले बलीका दिन प्रदेशभरि बिदा दिएको छ ।

आसपासका विद्यालयमा दर्शनार्थीहरूको बासका लागि सहज होस् भनेर विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षक संघका अध्यक्ष राजकिशोर सहनीले बताए । मेला लाग्ने आसपासका गाउँ र सहरका घरघरमा पाहुना भरिभराउ देखिएका छन् । सार्वजनिक स्थलहरूमा मेला भर्न आउनेहरूले बासको व्यवस्था गर्न थालेका छन् । मेलाको मुख्य आकर्षण पशुपंक्षीको बली छ ।

तर कतिपयले मन्दिरमा अबिर, फूलमाला, मिठाइ, नरिवल पनि चढाउने गरेका छन् । सो मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सयौँ सीसी क्यामेरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, बारुण यन्त्र तथा भोजनलगायतको तयारी व्यवस्थित रूपमा गरिएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताए ।

यसैगरी राँगाको बलिका लागि बधशाला व्यवस्थापन, हेलिप्याड र सुरक्षाको बन्दोवस्त गरिएको छ । ‘मेला भव्य र सभ्य बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ,’ प्रवक्ता स्वर्णकारले भने, ‘ चिताएको कुरा पुरा हुने भक्तजनले स्वस्फुर्त रूपमा भाकलका लागि कोही पशुपंक्षी बलि र फूलप्रसाद चढाउने गरेका छन् ।’ आइतबार राँगा र सोमबार अन्य पशुपंक्षीको बलि दिइने साइत परेको मन्दिरका मूल पुजारी मंगल चौधरीले बताए । ‘१० औँ पुस्तादेखि मेला लाग्ने र भाकलको बलि दिइने परम्परा छ,’ उनले भने, ‘हाम्रा पुर्खा हत्या आरोपमा जेलमा हुँदा गढीमाई सपनामा देखिनु र सपनामा आफ्नो पूजा र बली दिएपछि जेलमुक्त हुने गढीमाईले भनेअनुसार गरेपछि जेलमुक्त भएको किंवदन्ती छ ।’

गढीमाई स्थलमा त्रिशूल गाडेपछि सो मेलाको सुरुवातसँगै पूजा र बली दिइने चलन शुरु भएको उनले बताए । ‘ बलीको तिथिको अघिल्लो रात अर्थात् शनिबार राति तान्त्रिक विधिबाट पूजा गरेर मानव रगत र पाँचवटा पशुपंक्षीको पञ्चबली दिन्छौँ,’ उनले भने, ‘त्यसपछि बली सुरु हुन्छ ।’ पञ्च बलीमा जंगली मुसा, हाँस, परेवा, सुँगुर र कुखुराको बली दिइन्छ । गढीमाई मेलामा देशैभरि र भारतको पञ्जाब, हरियाणा, विहार, झारखण्ड, उत्तराखण्ड, उत्तरप्रदेश, मुम्बई, दिल्ली, पश्चिम बंगालबाट लाखौँ दर्शनार्थी आउने गरेका छन् ।

राँगा बलीका लागि २ विघा क्षेत्रफलमा फैलिएको बधशालाभित्र साढे २ सय मार हान्नेलाई समितिबाट लाइसेन्स दिइएको उनले बताए । बधशालाको तस्वीर पत्रकार वा अन्य कसैलाई खिच्न दिइने उनले बताए । बधशालाको पर्खाल १२ फिट उचाइमा बनाइएको छ । गत वर्ष १० हजारको हाराहारीमा राँगाको बलि दिइएको थियो भने अनगिन्ती बोका, हाँस, परेवाको बलि दिइएको थियो ।

सीमामा भाकलका राँगाहरू ल्याउन भारतीय सीमा सुरक्षा बलले अवरोध गरिरहेको भारत विहार बैरगनियाका उमेश पासवानले बताए । उनले एक साताअघि नै जसोतसो राँगा ल्याएर मेलामा बास बसेका छन् । छोराको भाकलमा उनले राँगा र बोकासमेत ल्याएका छन् । उनी जस्तै थुप्रैले राँगा ल्याइसकेका छन् ।

पशुपंक्षी बलीका लागि प्रसिद्ध मेलामा मानवरहित ड्रोन क्यामरा उडान गर्न, बधशालाको तस्वीर खिच्न, मार हान्ने मारकहरूलाई सामूहिक रूपमा धारिलो हतियार प्रदर्शन गर्नमा स्थानीय प्रशासन र मेला समितिले रोक लगाएको छ । ‘मेलाको ओजमा कुनै प्रकारको असर नपर्ने गरी सुरक्षाको दृष्टिकोणले रोक लगाइएको छ,’ जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारीले वसन्त अधिकारीले भने, ‘मेलाको सुरक्षाका लागि २ हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’

दर्शनार्थीको आउजाउ सहज पार्न ६ सयको हाराहारीमा ट्राफिक प्रहरी पनि परिचालन गरिएको छ । सो मेलामा २ हजार ५ सयको हाराहारीमा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतमा मेलामा खुला मदिरा सेवन तथा चिसोले कठ्यांग्रिएर दर्शनार्थीको मृत्यु र मेलामा पाकेटमारीदेखि लुटपाट तथा यौन हिंसाका क्रियाकलापका घटना भएकाले सुरक्षा चुनौती पनि छ ।

‘आमदर्शनार्थीको सुरक्षाका लागि संवेदनशील छौँ, सुरक्षा चुनौतीलाई चिर्न सुरक्षा तयारी गरिएको छ,’ बारा प्रहरीका प्रहरी उपरीक्षक महेन्द्र खड्काले भने, ‘दर्शनार्थीलाई निर्धक्क भएर पूजाआजा गर्न आग्रह गरेका छौंँ ।’ पशुबली विरोधी समूह तथा संघसंस्थाबाट हुन सक्ने असहज परि स्थितिलाई काबुमा राख्न सुरक्षा तयारी गरिएको उनले बताए ।

सीमा सुरक्षालाई समेत ख्याल गरिएको उनले बताए । सुरक्षाको चुस्त व्यवस्थापन गरिएको जिल्ला सुरक्षा समितिले दाबी गरिरहँदा अघिल्लो सातादेखि शुक्रबारसम्म १ हजारको हाराहारीमा पाकेटमारलाई बारा प्रहरीले पक्राउ गरेको छ । मेलाको कमान्ड गरिरहेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए अनुसार दैनिक ५० देखि सय पाकेटमार पक्राउ परिरहेका छन् । उनीहरूलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । गरगहना थुत्ने, पाकेट मार्ने र अन्य तरिकाले चोरी गर्नेहरूलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News