प्रथम राष्ट्रपति रामवरण यादवले अहिलेको संविधानमा संघीयता र समावेशीलगायतका हरेक मुद्दाहरु समावेश रहेपनि राजनीतिक दलले विवेकपूर्ण ढंगले कार्यान्वन नगर्दा जटिलता उत्पन्न भएको बताएका छन् ।
जनकपुरधाममा सोमबार तत्कालीन जनसरकार प्रधानमन्त्री महेन्द्रनारायण निधिको जीवनमा आधारित ‘नेपालका निधि’को पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले संविधान सारा कुराको व्यवस्था रहेपनि सो अनुसार कार्यान्वयन नगर्दा संविधानमा केही त्रुटि रहेको जस्तो देखिनु स्वभाविक रहेको प्रसंग उल्लेख गरे । उनले संविधानमा कार्यपालिका, व्यवस्थापिकाले राम्रो काम गर्न नसकेको र स्वतन्त्र न्यायपालिकामा पनि राजनीतिक हस्तक्षेप बढेको बताउँदै अहिले विश्वविद्यालयहरूमा दलीय भागबन्डाबाट पदाधिकारीको नियुक्ति हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।
पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरण नभएसम्म मुलुकको विकास कठिन हुने बताउँदै वर्तमान सरकारले यसमा ध्यान दिँदै दुई वर्षपछि काँग्रेसलाई सहमति अनुसार नेतृत्व हस्तान्तरण गर्ने आशा व्यक्त गरे ।
मुख्यमन्त्री सतीशकुमार सिंहले मुलुकको हरेक परिवर्तनमा मधेश प्रदेश भएको भूगोलले ठूलो योगदान दिएको बताउँदै मधेशका नेता तथा जनताले राज्यबाट उचित सम्मान पाउन नसकेको गुनासो गरे ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष नरेन्द्र कुमार मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादव, नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं विश्लेषक रामचन्द्र झा, वामपन्थी नेता शीतल झा, कांग्रेसका नेता रामसरोज यादव, पूर्व मन्त्री रामकृष्ण यादव, तमलोपाका नेता डा. विजय कुमार सिंह, काँग्रेसका नेता स्मृति नारायण चौधरीले स्वर्गीय नेता निधिको व्यक्तित्व माथि प्रकाश पारेका थिए ।
२००७ सालको क्रान्तिका बखत जनकपुरधाम कब्जा गरेपछि गठित जनसरकार प्रधानमन्त्री महेन्द्रनारायण निधिको जीवनमा आधारित किशोर नेपालद्वारा लिखित पुस्तक ‘नेपालका निधि’को लोकार्पण गरिएको सो कार्यक्रममा विमोचित पुस्तकका विषयमा लेखक वरिष्ठ पत्रकार किशोर नेपालले जानकारी दिएका थिए ।