
जनता समाजवादी पार्टी( जसपा)नेपालले स्थानीय तहको उपचुनावको परिणाम सन्तोषजनक रहेको ठहर गरेको छ । पार्टी कार्यकारिणी समितिको शुक्रबारदेखि शुरु भएको बैठकमा स्थानिय तहको उपनिर्वाचनको परिणाम उत्साहवद्र्धक रहेको निष्कर्ष निकालेको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा जसपा नेपालले वडा अध्यक्ष जितेको हो । त्यो दुबै वडामा यस अघि नेपाली काँग्रेसले जितेको थियो । सप्तरी जिल्लाको एउटै पालिकाको दुईवटा वडामा मात्र चुनाव भएको थियो । जसपा नेपालले काँग्रेसबाट दुबै सिट खोसेको हो ।
रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर १ को उपचुनावमा भने जसपा नेपालको सिट गुमेको हो । त्यहाँ जसपा नेपालले काँग्रेसबाट प्रवेश गरेकालाई उम्मेदवार बनाएको थियो । जसपा नेपालको अवस्था चौथो नम्बरमा थियो । त्यस वडामा पार्टीकै नेता, कार्यकर्ताहरु असहयोग गरेको कार्यकारिणी समितिको बैठकमा चर्चा भएको छ ।
स्थानीय तह उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदबारी दिएको जसपाले मधेश प्रदेशका दुई वडा अध्यक्षमा मात्र विजयी भएको छ । रौतहटमा एउटा सिट गुमाएपनि सप्तरीमा दुई सिट जितेकाले शतप्रतिशत जितमा बृद्धि भएको नेताहरुले बताएका छन् । कार्यकारिणी समितिको बैठकले जसपा नेपालले चलाएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ अत्यन्त प्रभावकारी भएको ठहर गरेको छ । संगठन बिस्तारमा अभियान अत्यन्त प्रभावकारी रहेको धारणा राख्दै सदस्यहरुले त्यसलाई पुस र माघ महिनामा पनि निरन्तरता दिनुपर्ने धारणा राखेको उप–महासचिव सुरेश मण्डलले बताए । ‘संगठन विस्तारका लागि भएको अभियान जनस्तरमा प्रभावकारी देखिएको हुँदा यसलाई दुई महिना थप गरिनेछ’ उनले भने, अभियानले संगठनलाई बिस्तार गरेको र नेता, कार्यकर्ताहरुलाई सक्रिय बनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु भएको बैठकले पार्टीको निजी भवन निर्माणबारे छलफल गर्नेछ ।
पार्टीको आर्थिक विभाग गठन भएकाले खाता सञ्चालन लगायतका प्रकृयाको लागि विधानमा संशोधन गरिने निर्णय बैठकले गर्नेछ । पार्टीको कार्यालय भवन निर्माण कार्य प्रारम्भ भएको छ । कार्यालय भवन निर्माणका लागि आर्थिक विभाग प्रमुख रहेका बलराम महतोले जिम्मेवारी पाउने बताइएको छ ।
भवन निर्माणको जिम्मेवारी र खाता सञ्चालनको कामपनि महतोलाई दिने निर्णय शनिवार हुनेछ । कार्यकारिणी समितिले पार्टीको स्थानीय तहको संगठनात्मक संरचनालाई अझ सुदृढ बनाउन अधिवेशन गर्ने तयारी गरेको छ । बैठकमा स्थानीय तहको अधिवेशनलाई एजेण्डा बनाइएको छ । अधिवेशनको विषयमापनि बैठकले निर्णय लिने उप– महासचिव मण्डलले बताए ।
एकताको प्रथम राष्ट्रिय महाधिवेशन पार्टीको सम्पन्न भइसकेपनि स्थानीय तहको अधिवेशन गर्न बाँकी रहेकोले अभियानसँगै त्यसलाई पनि सुरु गर्ने विषयमा छलफल जारी रहेको मण्डलले बताए । संघीय सरकार र प्रदेश सरकारको विषय बैठकको एजेण्डा नभएपनि बिबिध एजेण्डामा त्यस सम्बन्धमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
संघीय गठबन्धनमा जसपा नेपाल रहेपनि संघीय र प्रदेश सरकारमा सहभागि छैन् ।दुवै तहको सरकारबारे जसपा नेपालका नेताहरु मौन नै देखिएका छन् । सहकारीको रकम अपचलन गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका रवी लामिछानेको विषयमा विपक्षी दलहरुले टिप्पणी गरिरहँदा जसपा नेपालका नेताहरुले मुख खोलेका छैनन् ।
मधेश प्रदेश लगायतमा बिउ र मलको चरम अभाव रहेको किसानहरुले कालोबजारबाट मल खरिद गरिरहेको भएपनि जसपा नेपालले कुनै प्रतिक्रिया जनाएको छैन । नेता मण्डलका अनुसार सरकारमा जाने अथवा सरकारको आलोचना गर्ने विषय भन्दा जनताको समस्याबारे जनताको माझ नै छलफल गर्ने अभियानलाई प्राथमिकतामा राखिएको छ ।
जसपा नेपालले कार्यकारिणी समिति र पदाधिकारीमा संख्या थप्ने अधिकार केन्द्रिय अध्यक्षलाई दिएपनि त्यस विषयमा निर्णय नहुँदा अझै धेरै नेता असन्तुष्ट छन् ।उनीहरुले पार्टी नछाडेपनि निष्कृय रहेका छन् ।पार्टीका केहि केन्द्रिय सदस्यहरुले साथ छाडिसकेको र केहि अझै छाडने तयारीमा रहेको बताइन्छ ।