मधेश प्रदेशको विकट क्षेत्रको रुपमा रहेको सर्लाहीको उत्तरी चुरे भेगका विकट बस्तीमा बसोबास गर्ने स्थानीय वर्षौदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य रहेका छन् । भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा पर्ने यहाँको चुरे क्षेत्रका स्थानीय सडक, बिजुली, खानेपानी, स्वास्थ्य सुविधालगायतका आधारभूत सेवाबाट वञ्चित छन् ।
जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका दर्जनौँ वस्तीमा सडक पुगेको छैन । स्थानीय चुरेपाखाको कच्ची भिरालो बाटो तथा खोला किनारबाट आवतजावत गर्न बाध्य रहेका छन् । चुरे भेगका केही क्षेत्रमा हिउँदयामको बेला खोलाको बगरबाट गाडी चले पनि माथि डाँडामा रहेका वस्तीमा पैदल हिँडेर जानुबाहेक अन्य विकल्प छैन । जिल्लाको लालबन्दी नगरपालिका–१५ स्थित शिरकालिञ्जोरका जितबहादुर स्याङ् तानले वस्तीमा खानेपानी र सडकको समस्या रहेको गुनासो गरे । उनले भने, “वस्तीसम्म आउने गतिलो सडक छैन, कुवाको पानी पिउने गरेका छौँ,” उनले थप्दैँ भने, “जे जस्ता समस्या भए पनि विपन्नताले गर्दा बस्ती छाडेर जान पनि सकेका छैनौँ ।” स्थानीयवासी स्याङ्तानले बजारसम्म औषधोपचार वा किनमेलका लागि जानु पर्दा एक घण्टाभन्दा बढी चुरेपाखाको गोरेटो बाटो हिँडेर गाडी चल्ने ठाउँसम्म पुग्ने गरेको बताए ।
चुरे भेगका बस्तीमा अधिकांश स्थानीय बजारसम्म आउजाउ गर्नु पर्दा गाडी चल्ने स्थान चुरेफेदीसम्म पैदल हिँडेर आउने गरेका छन् । सामान्य अवस्थामा पैदल हिँडेर आउन अप्ठेरो नरहे पनि बिरामी पर्दा भने असाध्यै समस्या पर्ने गरेको स्थानीयको दुःखेसो रहेको छ । विद्यार्थी दैनिक एक घण्टाभन्दा बढी हिँडेर विद्यालय पुग्ने गरेका छन् । चुरे क्षेत्रका प्रत्येक वस्तीमा विद्यालय पनि छैन ।
चुरेडाँडामा झुरुप्प वस्तीभन्दा छरिएर रहेका अधिकांश घर छन् । एक वस्तीबाट अर्को वस्तीमा रहेको विद्यालयसम्म पुग्न घण्टौँ लाग्ने गरेको स्थानीय बताउँछन् । ईश्वरपुर नगरपालिका–१२ स्थित पिपलदमार गाउँकी सुकरानी मोक्तानले गाउँमा कोही बिरामी पर्दा एक घण्टाभन्दा बढी झोलुंगोमा राखेर गाडी भएको ठाउँसम्म बोकेर ल्याउने गरिएको बताए । उनले गाउँसम्म आउने बाटोको ट्रयाक निर्माण भए पनि यातायातका साधन सञ्चालन नभएको बताए ।
मोक्तानले गुइडुङसम्म बिजुली आए पनि सबै घरमा तार नपुगेको गुनासो गरे । उनले वस्तीका अधिकांश घरमा तार टाँगिए पनि आफ्नो र अन्य तीन/चार घरमा बत्ती नपुगेको दुःखेसो पोखे । भौगोलिक हिसाबले विकट रहेका चुरे भेगका वस्तीमा वडा तथा नगरको सीमित बजेटले मात्रै स्थानीयको आवश्यकता र अभाव पूर्ति गर्न नसकिएको जनप्रतिनिधिको भनाइ छ ।
ईश्वरपुर नगरपालिका–१२ स्थित कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले भौगोलिक हिसाबले निकै ठुलो रहेको आफ्नो वडामा सीमित बजेट खर्चेर चुरेका सबै बस्तीमा योजना लान नसकिने बताए । वडाध्यक्ष खत्रीले चुरेपाखामा छरिएर रहेका बस्तीमा वडाले मात्रै बजेट खर्चेर केही नहुने बताए । कतिपयले चुरेका विकट डाँडापाखामा रहेका बस्ती अन्यत्र सार्नु नै उत्तम हुने तर्क गर्ने गरेका छन् ।
हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले चुरेका स्थानीयको दयनीय दैनिकी देख्दा दुःख लाग्ने गरेको बताए । वडाध्यक्ष घिसिङले आफ्नो वडाभित्रै दिनभर हिँड्दा पनि चुरेका सबै घरमा पुग्न सक्ने अवस्था नरहेको दुःखेसो पोखे । चुरेका सबै बस्तीमा एकै दिनमा पुगेर भ्याइँदैन, त्यस्तो ठाउँमा कसरी सबै प्रकारको विकास पु–याउन सम्भव हुन्छ ? वडाध्यक्ष घिसिङले भने ।
सिन्धुलीसंग सीमा जोडिएको सर्लाहीको उत्तरी चुरे भेगका स्थानीयलाई दैनिक आवश्यक पर्ने खाद्यान्न वस्तु खरिद गर्न तथा औषधोपचार गर्न लालबन्दी र हरिवन बजार आउनुपर्ने बाध्यता रहेको छ । चुरेपाखाको एलानी जग्गामा बस्ने स्थानीयको आम्दानीको स्रोत विदेशबाट परिवारका सदस्यले पठाउने रेमिट्यान्स हो ।
पाखो बारीमा मकै, कोदो, फापर, तोरी, बोडीलगायतका बाली उब्जिए पनि केही महिना मात्रै खान पुग्ने स्थानीयले बताएका छन् । बागमती नगरपालिका–१ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले आफ्नो वडा पूर्वपश्चिम राजमार्गदेखि निकै नजिकै पर्ने भए पनि पाखापखेरा र छरिएर रहेका घरका कारण विकास निर्माणका काम गर्नै मुस्किल रहेको गुनासो गरे । वडाध्यक्ष पाख्रिनले छरिएर रहेका बस्तीमा सडक, खानेपानीलगायत सबैथोक पु¥याउन अझै वर्षौसम्म लाग्ने अवस्था रहेको बताए ।