२०८१ मंसिर ३०, आईतवार ०६:५३

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दुई दिन सम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन बिस्तार अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्मलाई निरन्तरता दिने निर्णय गरेको उपमहासचिव सुरेश मण्डलले जनाएका छन् । शुक्रबार शुरु भएको बैठकमा अभियानलाई निरन्तरता दिने मुख्य एजेण्डा राखिएको थियो ।

शनिबार सम्पन्न भएको बैठकले माघ मसान्त सम्म अभियानलाई निरन्तरता दिने निर्णय गरेको मण्डलले बताए । बैठकले स्थानीय तह, प्रदेश र भातृ संगठनहरुको अधिवेशन चैत मसान्त भित्र गर्ने निर्णय गरेको छ । निर्धारित समय भित्र अधिवेशन नगर्ने भातृ संगठन स्वतःखारेज हुने भनिएपनि स्थानीय र प्रदेशको अधिवेशनमा त्यस्तो कडाई गरिएको छैन ।

स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको जनताको मत परिणाम सन्तोषजनक रहे पनि प्रर्याप्त नरहेकोले संगठन निर्माण एवं बिस्तार अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ । पूर्वपश्चिम राजमार्गमा संगठन निर्माणको लागि विशेष सांगठनिक कार्ययोजना तयार गर्ने निर्णय गरेको मण्डलले बताए ।

महाधिवेशन पछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र अद्यावधिक गर्ने निर्णय गरेको छ । जसपा नेपालको पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ । जसपा नेपालको निर्माणाधिन भवनका लागि आर्थिक विभाग प्रमुखको चेकमा हस्ताक्षर हुनेगरि विधानमा संशोधन गरिने निर्णय हुन सकेन ।

Comment


Related News

Latest News

Trending News