अपडेट 
२०८१ मंसिर ३०, आईतवार ०६:५७

नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा सत्तागठबन्धनका प्रेस चौतारीबाट निर्मला शर्मा निर्वाचित भएकी छन् भने मधेश प्रदेशमा मिश्रित परिणाम आएको छ ।

मधेश प्रदेशको आठ जिल्लामध्ये तीन जिल्लामा नेपाली काँग्रेस समर्थित प्रेस युनियन, एउटा जिल्लामा प्रेस युनियनका विद्रोही सभापतिमा निर्वाचित भएको छ ।

शनिवार बिहान घोषणा भएको परिणाम अनुसार दुईवटा जिल्लामा प्रेस सेन्टर समर्थित उम्मेदवार जितेका छन् । सिरहामा भने स्थानीयस्तरमा बनाइएको गुटले बाजी मारेको छ । सप्तरी र सिरहा जिल्लामा अध्यक्ष दोहरिएका छन् ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा नयाँ उम्मेदवारले अध्यक्ष जितेका छन् । पर्सा जिल्लामा प्रेस चौतारी र युनियन गठबन्धनबाट चौतारीका अनुप तिवारी अध्यक्षमा पराजित भएका छन् । अन्य जिल्लाहरुको तुलनामा पर्सालाई बढी महत्वका साथ हेरिएको थियो । सप्तरीमा युनियनका श्रवण देव र सिरहामा अन्य गठबन्धनका मनोज बनैताले दोस्रो कार्यकालका लागि चुनाव जितेका छन् ।

धनुषामा युनियनका पुरन गुप्ता, महोत्तरीमा प्रेस सेन्टर गठबन्धनका महेश दास, सर्लाहीमा युनियनका ओमप्रकाश ठाकुर र रौतहटमा युनियनका विद्रोही सञ्जय कार्कीले चुनाव जितेका छन् ।

बारा जिल्लामा समाजवादी प्रेस संगठनका रमेश सुवेदीले सभापतिमा जितेका छन् । मधेश प्रदेशको पर्सा जिल्लामा प्रेस सेन्टर, संगठन र युनियनले अध्यक्ष जिते पनि प्रेस चौतारी र प्रेस मञ्चले पराजयको पीडा भोग्नु परेको छ ।

प्रेस मञ्चको स्थिति जिल्ला र प्रदेशमा खराब देखिएको छ । मधेश प्रदेशको अध्यक्षमा प्रेस चौतारीबाट प्रदेश अध्यक्षमा श्याम बञ्जाराले चुनाव जितेका छन् । त्यस्तै प्रदेश उपाध्यक्षमा अम्बिका कुमारी दाहाल (समाजवादी प्रेस संगठन), महिला उपाध्यक्षमा ज्योति झा (चौतारी) र महासचिवमा शैलेन्द्र महतो क्रान्ति (प्रेस सेन्टर)ले चुनाव जितेका छन् ।

मधेश प्रदेश समितिको उपाध्यक्ष र महासचिवमा प्रेस युनियनका उम्मेदवार क्रमशः उपेन्द्र यादव र राजन सिंह पराजित भएका छन् । जिल्लामा युनियनले राम्रो सफलता हात पारेपनि प्रदेशमा नराम्ररी पराजित भएको छ ।

मधेश प्रदेशको अध्यक्षमा चौतारीबाट बञ्जारा, प्रेस मञ्चबाट अवधेश झा र युनियनको विद्रोही नवलकिशोर यादवले प्रतिस्पर्धा गरेका थिए । मधेश प्रदेशमा युनियन र प्रेस चौतारीले गठबन्धनमै उम्मेदवारी दिए पनि परिणाम भने युनियनको विपक्षमा गएको छ । युनियनले जितेको जिल्लामा पनि प्रेस सेन्टरका महासचिवका उम्मेदवार शैलेन्द्र महतोले बढी मत पाएका छन् ।

समाजवादी प्रेस संगठन, प्रेस सेन्टर नेपालको प्रदर्शन समग्रमा राम्रो देखिएको छ ।

Comment


Related News

Latest News

Trending News