मौलिक कला, संस्कृति, भाषा साहित्यको संरक्षण संवद्र्धनका लागि मधेश प्रदेशमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाममा आइतबार मैथिली विकास कोषको आयोजनमा भएको कार्यक्रममा बोल्दै राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादवले मिथिलाको कला, संस्कृति, भाषा साहित्यको संरक्षणसंगै यसको विकासका लागि जोड दिएका छन् । उपकुलपति यादवले मिथिलाको लोककला, दर्शनलगायतका विषयवस्तुमा पाठ्यक्रम बनाइ अध्ययन अध्यापनका लागि आन्तरिक तयारी राजर्षि विश्वविद्यालयले थालेको बताए । उनले मौलिक कला संस्कृतिको जगेर्ना र अझै पनि गौण रहेका यहाँ कलालगायतका क्षेत्रको अनुसन्धानसमेत आवश्यकता रहेको बताए । यसका लागि यस प्रतिष्ठानहरुको भूमिका पनि महत्वपूर्ण रहेको उनको भनाइ छ ।
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले मिथिला कला र संस्कृति अन्तर्गतका जटजटिन, झिझिया, समेवा चकेवा, गाथा गायनलगायतका मौलिक संस्कृतिको रक्षामूलक कार्यक्रममा पहलका लागि प्रतिष्ठानहरुले अग्रसरता लिनुपर्ने बताए
। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कुशमा महरा प्रगतिले कलाकार राज्यको अंग रहेको बताइन् । कलाकार सौन्दर्यको वस्तु अर्थात गहना नभइ राज्यको अंगको रुपमा रहेको र यसका लागि कलाकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले मौलिक कला र संस्कृतिको आदान प्रदान हुनुपर्ने बताएकी छन् । एक प्रदेशबाट अर्को प्रदेशमा कला र संस्कृति आदान प्रदान भएमा यसको प्रचारप्रसार र मौलिक पहिचानसंगै रक्षा पनि हुने उनले बताइन् । उनले कला र संस्कृति अन्तरप्रदेश आदान प्रदानबाट कलाकारलगायतकाले आयआर्जनसमेत हुने विश्वास व्यक्त गरिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले भाषा, संस्कृति, संगीत, ललितकला, मिथिला कलालगायतका मिथिलाको कला संस्कृतिको उजागर, अनुसन्धान, प्रदर्शनलगायतको खोज तथा अनुसन्धानमा जोड दिए ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले तीन वटै प्रतिष्ठानले कुनै खास व्यक्तिहरुलाई पटकपटक अवसर दिएर अन्य स्रष्टालाई बेवास्ता गर्नु न्यायोचित नभएको प्रसंग उल्लेख गर्दै मिथिलामा हरेक क्षेत्रका प्रतिभा रहेको उल्लेख गरे ।
सो अन्तरक्रिया कार्यक्रममा प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झा, प्राज्ञ रमेश रञ्जन झा, पूर्व प्रध्यापक तथा साहित्यकार परमेश्वर कापडि, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्णलगायतका वक्ताले बोलेका थिए ।
सो कार्यक्रममा रचनागत लेखन प्रकाशन, अध्ययन अनुसन्धान, नाट्य–रंग, चित्रकला प्रदर्शनसंगै यसको प्रशिक्षण, कार्यशाला गोष्ठी, सेमिनार प्रदर्शनीका सकारात्मक रचनात्मक कार्यक्रमहरु प्रतिवद्धात्मक योजनाहरु सार्वजनिक गरिएको थियो ।


