अपडेट 
२०८१ पुष २, मंगलवार ०८:०१

भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।

भारत सरकारको रामायण सर्किट अन्तरगतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तरप्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय काँन्क्लेवमा उत्तरप्रदेश राज्यका मन्त्रीहरु पनि आउने बताइएको छ ।

उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन सम्बन्ध रहेको छ ।त्रेता युगमा भगवान रामले भगवान शिवको धनु( पिनाक)लाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।

भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्व भएका स्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न रामायण सर्किट बनाएको छ ।रामायण सर्किटको प्रमुख स्थानहरु मध्ये जनकपुरधाम र धनुषाधाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्र ाष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलंकामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।जनकपुरधाममा पुसको ६ र ७ गते जानकी मन्दिर परिसरमा काँन्क्लेवको आयोजना हुनेछ ।

काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटाको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषदले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिने कार्यक्रम रहेको छ । काँन्क्लेवको उद्घाटन सत्रको अध्यक्षता मधेश प्रदेशकी राज्यपाल श्रीमती सुमित्रा भण्डारीले गर्ने छिन् ।कार्यक्रमको मुख्य अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह रहेका छन् ।

अन्तर्राष्ट्रिय रामायण एवं वैदिक शोध संस्थान संस्कृति विभाग उत्तरप्रदेशका निर्देशक सन्तोष कुमार शर्मा, संस्कृति उत्तरप्रदेश निर्देशक शिशिर र संस्कृति पर्यटन मन्त्रालय उत्तर प्रदेशका प्रमुख सचिव समेत रहेका अन्तर्राष्ट्रिय रामायण एवं वैदिक शोध संस्थान अयोध्याका अध्यक्ष मुकेश कुमार मेश्राम र जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको संयुक्त नामबाट आमन्त्रण कार्ड वितरण गरिएको छ ।

गत वर्ष उत्तरप्रदेशको अयोध्यामा भगवान रामललाको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठा भएसँगै जनकपुरधाममा आउने भारतीय पर्यटकको संख्यामा भारी बृद्धि भएको छ ।भारतीय रेलवेद्वारा सञ्चालित रामायण सर्किटसित जोडिएको रेल भ्रमणका श्रद्धालुहरुको एउटा गन्तव्य जनकपुरधामपनि रहेको छ ।

केही वर्षदेखि उत्तरप्रदेशमा आयोजना गरिने दीपोत्सव कार्यक्रममा जनकपुरधामबाट मिथिला नाट्यकला परिषदले जानकी लीला गर्दै आएको छ ।जानकी चरित्रमा आधारित जानकी लीलाले त्रेता युगमा सीताको जन्मदेखिको संस्मरण देखाइन्छ ।

साँझ ३ बजेदेखि हुने काँन्क्लेव शनिवारदेखि आइतवार सम्म चल्नेछ । उत्तरप्रदेश सरकारको सकृयतामा जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव हुन लागेको छ ।यसले नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । ‘रामायणकालीन संस्मरणलाई ताजा बनाइराख्न जनकपुरधाममा रामनवमी, जानकी नवमी र सीताराम विवाह महोत्सवको भव्य आयोजना गरिन्छ’ उनले भने, अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिला रीति अनुसार हुने विवाह महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

उत्तरप्रदेश संस्कृति विभागका अधिकारीहरु सोमवार जनकपुरधाम आईपुगेका छन् ।कार्यक्रमको स्वरुप, तयारी लगायतका विषयमा सरोकारबलाहरुसित छलफल सुरु गरिएको छ । कार्यक्रममा उत्तर प्रदेश सरकारको संस्कृति एवं पर्यटन मन्त्री जयवीर सिंहको सहभागिता रहने निश्चित भइसकेको छ ।कार्यक्रममा अन्य भारतीय अधिकारी र विशिष्ट व्यक्तिहरुको सहभागिता हुने बताइएको छ ।

योगी आउने

भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ रामायण काँन्क्लेवको उदघाटनमा सहभागी हुने बताइएकोछ ।

शनिवार जनकपुरधाममा काँन्क्लेवको समुदघाटनको कार्यक्रम रहेको छ ।मुख्यमन्त्री आउने निश्चित भइनसकेको बताउँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले मंगलवार भ्रमणबारे टुंगो लाग्ने बताएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथ तीनवर्ष पूर्व सीताराम विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम आएका थिए । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा सहभागी भएका थिए ।

Comment


Related News