अपडेट 
२०८१ पुष २, मंगलवार ०८:५५

मधेश प्रदेशमा स्वास्थ्य बीमाको पहुँच बढाउनका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेको एक कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।

मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमाको पहुँच बढाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवाला निकायको सहभागितामा सोमबार जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका छन् । कार्यक्रममा नेपाल सरकारले विपन्नका लागि सञ्चालन गरेको निःशुल्क बीमा कार्यक्रम मधेश प्रदेशको कुनै जिल्लामा लागु नगरेकाले अविलम्ब रुपमा शुरु गर्नका लागि सहभागीहरूले सुझाव दिए ।

एक तथ्यांक अनुसार मधेश प्रदेशमा अहिले ११ दशमलब ५६ प्रतिशतले स्वास्थ्य बीमा गराएको भए पनि निम्न तथा उच्च वर्गका व्यक्तिहरू बीमाको पहुँचमा आउन सकेका छैनन् । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य बीमाका लागि वर्षको ३ हजार ५ सय रकम दिन नसक्ने परिवारका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले मधेश प्रदेश सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिदै गरिब जनतालाई स्वस्थ्य बनाउनका लागि मन्त्रालयले रकमान्तर गरेर भए पनि स्वास्थ्य बीमामा सघाउने बताए ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले उच्च तथा निम्न वर्गका व्यक्तिहरू स्वास्थ्य बीमाको पहुँचमा नआएको बताए । मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.अंकुर साहले स्वास्थ्य बीमा क्षेत्रको विस्तारका लागि सेवा तथा सुविधामा विस्तार गर्न जरुरी रहेको भन्दै बीमा गरेकाले पनि नवीकरण नगर्ने गरेको बताए ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि डा.समीर अधिकारीले देशका १ लाख विपन्न नागरिक तथा १६ लाख ५४ हजार ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्दा शत प्रतिशत बीमाको अवस्था देखिएकाले बीमाप्रति सबै सचेत भए पनि बीमा गराउँदा रकम लाग्ने भएकाले गराउन नचाहेको बताए ।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा.जामुनप्रसाद सिंहले मधेश प्रदेशका जिल्लाहरूमा गरिब तथा विपन्नको जनसंख्या अत्यधिक भएका कारणले स्वास्थ्य बीमा गराउनेको संख्या कम भएको भन्दै विपन्न बीमा कार्यक्रम लागु गर्न मधेश स्वास्थ्य विज्ञानका प्रतिष्ठानलाई सुझाव दिए ।

Comment


Related News