अपडेट 
२०८१ पुष ४, बिहीबार ०७:४१

जनकपुरधाम मधेस प्रदेशको राजधानी शहर जनकपुरधाम संघीयताको कार्यान्वयनसँगै आसपासका मानिसहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । धामिर्क र पर्यटकीय नगरीको रुपमा परिचित यो सहर प्रशासनिक केन्द्रको रुपमा विकास भएपछि यस ठाउँमा बसाँइसरेर आउनेहरु थपिदै गएका छन् । मधेस प्रदेशको राजधानी घोषणा भएपछि व्यापार,व्यवसाय,अध्ययन,रोजगारी लगायतका कारणले मानिसहरु यस ठाउँमा बढी आएको सरोकारवालाहरुले बताएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकको आधारमा जनकपुरधाम उपमहानगरपालिकाले हालसालै सार्वजनिक गरेको जनसंख्यिक प्रतिवेदन अनुसार यस नगरपालिकाको जनसंख्या वृद्धिदर राष्ट्रिय औषत भन्दा झण्डै दोब्बर रहेको छ । २०६८को जनगणना र २०७८ को जनगणनाका बीचमा नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेकोमा जनकपुरमा त्यो भन्दा दुईगुणा बढी अर्थात १.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले तयार गरेको यो प्रतिवेदन अनुसार जनकपुरधाम अघिल्लो दशक भन्दा धेरैवटा सुचकमा अब्बल भएको देखिन्छ ।

केहीदिन पहिले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख (सचिव) मधु सुधन बुर्लाकोटीले नगर प्रमुख मनोज कुमार साहलाई हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार २०६८ सालमा यस उपमहानगरको जनसंख्या १६२१७२ भएकोमा हाल १९४५५६ रहेको छ । जसमा महिलाको जनसंख्या ९४७९२ र पुरुषको जनसंख्या ९९७६४ रहेको छ ।

यस उपमहानगरको लैंगिक अनुपात १०५.२ रहेको छ । यो धेरै राम्रो सुचक भएको एनएसओका निर्देशक एवं जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार नेपालको लैंगिक अनुपात ( १०० जना महिलाको जनसंख्या त्यस ठाउँमा भएका पुरुषको जनसंख्या) ९५.५ रहेकोमा जनकपुरमा १०५.२ रहेको छ । ‘लैंगिक अनुपात १०० भन्दा माथी हुनुको अर्थ यस ठाउँमा पुरुषको जनसंख्या महिलाको भन्दा बढी छ भन्ने हो ’ लामिछाने भन्छन् ‘ नेपालमा दशकौं देखि महिलाको जनसंख्या बढी छ । तर तराइ क्षेत्रमा पुरुषहरु बढी छन् । यसको अर्थ पुरुषका लागि मधेसमा रोजगारीका अवसर छन् भन्ने हो । जनकपुरमा पनि उद्योगधन्दा तथा व्यापारका कारण पुरुषहरुको वैदेशिक रोजगारीमा जाने चलन कम देखियो । ’

यस उपमहानगरको कुल जनसंख्यामा करिब २० प्रतिशत मानिसहरु अन्य स्थानीय तह वा जिल्लाबाट बसाँइसरेर आएको देखिन्छ । यो क्रम अझ बढ्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयका विज्ञहरु बताउछन् । तथ्यांंकमा देखाए अनुसार युवाहरुको जनसंख्या जनकपुरधाममा उच्च रहेको छ । १६ देखि ४० वर्ष उमेर समुहका युवाहरु कुल जनसंख्याको ४४.४ प्रतिशत रहेका छन् । यसले जनकपुरधाममा मानव स्रोतको अवस्था मजबुद रहेको छ भन्ने पुष्टि भएको छ ।

काम गरेर खान सक्ने अर्थात सक्रिय उमेर समुहको जनसंख्या (१५ देखि ५९ वर्ष) जनकपुरमा ६१ प्रतिशत रहेको देखिन्छ । यो तथ्यांकले जनकपुरधाममा आश्रित अर्थात बालबालिका र बृद्ध जनसंख्याको हिस्सा कम्ती छ भन्ने पुष्टि भएको छ । ६० वर्ष भन्दा माथीको बुढ्यौली जनसंख्या नेपालमा १० प्रतिशत रहेकोमा जनकपुरमा ८.६ प्रतिशत मात्र रहेको छ । तथ्यांकीय प्रतिवेदनले जनकपुरधाममा बसोबास गर्नेहरुको आर्थिक हैसियत र सामाजिक परिवेश पनि उचाँे हुँदै गएको पुष्टि गर्दछ ।

यस उपमहानगरमा २०६८ सालमा ग्यासमा खाना पकाउने परिवारको संख्या ४०.४ रहेकोमा झण्डै दोब्बर बढेर ७२.४ पुगेको छ । यसैगरी शौचालय नहुने परिवारको संख्या ३०.९ बाट ७.२ मा झरेको छ । घर र जग्गा दुवैमा आफ् नो स्वामित्व भएका महिलाको संख्या कुल जनसंख्याको २०.१ प्रतिशत रहेको छ ।

उपमहानगरपालिका भए पनि करिब एक तिहाइ जनसंख्या ग्रामिण क्षेत्रमा बसोबास गरेको तथ्यांक रहेको छ । निर्देश्क लामिछानेका अनुसार जनकपुरधामको ६७ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा र ३३ प्रतिशत जनसंख्या ग्रामिण क्षेत्रमा बसोबास गरेको छ । कुल साक्षरता दर ७६.६ प्रतिशत रहेको जनकपुरधाममा महिला साक्षरता ६३.७ मात्र रहेको छ ।

यस उपमहानगरमा बसोबास गरेका चारवटा जातजातीको साक्षरता दर ५५ प्रतिशत भन्दा कमी रहेको छ । जसमा सबभन्दा कमजोर विन ५२.६,चमार५३.९ र खत्वे ५४.७ रहेको छ । जनसंख्यिक प्रतिवेदनले उपमहानगरपालिकामा तथ्यांकको अभाव हटेको प्रमुख मनोज कुमार साहले बताए ।

प्रतिवेदन ग्रह्ण गरेपछि प्रमुख साहले आगामी दिनमा उपमहानगरले योजना छनौट तथा बजेट निर्माण गर्दा यसै तथ्यांकलाई आधार बनाउने प्रतिवद्धता जनाएका छन् । ‘तथ्यांक आफैंमा पूर्ण हुदैन । यसलाई समय समयमा अद्यावधिक गर्नैपर्छ । तर उपमहनगरलाई तथ्यांकको एउटा आधार भएको छ प्रमुख साहले भने ‘ यसलाई हामी अद्यँवधिक पनि गर्नेछौं । ’ अपिल मिडियाको समन्वयमा तयार पारिएको प्रतिवेदन हस्तान्तरण गरिएको छ । प्रतिवेदन हस्तान्तरणका क्रममा टाफका कार्यक्रम निर्देशक प्रणय स्थापितले प्रमाणमा आधारित विकासलाई जोड दिन देशका ६ वटा स्थानीय तहहरुमा जनसंख्यिक प्रतिवेदन तयार गर्न टाफले सहयोग गरेको बताए ।

Comment


Related News

Latest News

Trending News