मधेश कृषि विश्वविद्यालयका कर्मचारीले पाँच महिना देखि तलब पाउन सकेका छैनन् ।
शिक्षा तथा संस्कृति मन्त्री नेतृत्वमा रहेको सिनेटको बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबार ठप्प हुँदा विश्वविद्यालयको सो स्थिति भएको छ । सिनेट बैठकबाट बजेट पास नहुँदा ५ महिनादेखि कर्मचारीहरुले तलबभत्ता नपाएको, प्रशासनिक खर्च अभावले सम्पूर्ण कामकाज प्रभावित हुन पुगेको विश्वविद्यालयका उप– प्राध्यापक रमानन्दन यादवले बताए । उनले भदौ महिनादेखि तलव नपाउँदा विश्वविद्यालयका उपकुलपति, रजिस्टारसहित १९ जनाले चरम आर्थिक समस्या झेल्न बाध्य भएको जानकारी दिए ।
सिनेट बैठकबाट विश्वविद्यालयका लागि बजेट स्वीकृत नहुँदा पठनपाठनसहित पानी, विजुली,घरभाडा, टेलिफोन, इन्धन, पठनपाठनका लागि आवश्यक सामग्रीहरुको अभावले विश्वविद्यालयको अवस्था लथालिङ्ग हुन गएको उप– प्राध्यापक यादवले बताए । उनका अनुसार विश्वविद्यालयका उपकुलपति १, रजिस्टार १, उपप्रध्यापक ८, कम्प्युटर अपरेटर १, प्रशासन सहायक १, नासु १, कार्यालय सहयोगी ४ र सवारी चालक २ गरी १९ जनाले पाँच महिनादेखि तलवभत्ता पाएका छैनन् ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले ३० करोड विनियोजन गरिरहँदा चालु आर्थिक वर्षमा मुख्यमन्त्री सतीस कुमार सिंह नेतृत्वको सरकारले १० लाख बजेटमा सीमित गरेर विश्वविद्यालय नै सिध्याउने नियत प्रदर्शन गरेको स्थानीय राजनीतिक दलहरुले आरोप लगाउँदै आएको छ ।