अपडेट 
२०८१ पुष १०, बुधबार ०७:५४

धनुषा–महोत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक तथा धार्मिक दूधमति नदीको संरक्षण, जिर्णोद्धार र सौन्दर्यकरणका लागि आगामी आइतबारदेखि नक्साकंन तथा रेखाकंनको कार्य थालिने भएको छ ।

मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको दूधमति संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत दुधमति नदी संरक्षण उच्चस्तरीय उपसमितिको मंगलबार बसेको बैठकबाट नदी क्षेत्रको जग्ग छुटाउन नक्साकन तथा रेखांकन गर्ने निर्णय गरिएको जनाइएको छ ।

उपसमितिका अध्यक्ष उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवको अध्यक्षतामा बसेको उपसमितिको बैठकबाट दूधमति नदीको नक्सांकन तथा रेखांकन सहित विभिन्न ६ बुँदे निर्णय गरेको छ ।

मंसिर १४ गतेदेखि शुरु हुने नक्सांकन अन्तर्गत नदी क्षेत्र नापजाँचको कामको अवधि ३ महिना दिइएको छ । दूधमति नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ अरजनवादेखि महोत्तरीको मटिहानी सीमावर्ती क्षेत्रसम्म गरिन उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले जनाएको छ ।

दूधमति नदीको संरक्षण र सौन्दर्यकरण प्रदेश सरकारको गौरवको आयोजना रहेकाले आयोजना सम्पन्नपछि सो क्षेत्रमा पर्यटकीय र आर्थिक सहित कृषि क्षेत्रको समेत विकास हुने उपसमितिका अध्यक्ष मन्त्री यादवले बताए ।

यी बाहेक उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरिने, बजेटको व्यवस्थापन सम्बन्धित मन्त्रालयले गर्ने, डिपीआरपछि टेण्डर प्रक्रिया अघि बढाइने, चालू आर्थिक वर्षमा छुटयाइएको रकमबाट तत्काल कार्य अघि बढाइने र प्रचार प्रसार समिति गठन गर्ने सहितका निर्णय समेत गरिएको छ । सो बैठकमा उपसमितिका पदाधिकरी, धनुषा र महोत्तरी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी तथा मालपोत कार्यालयका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि, प्रहरी प्रशासन समेतको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News