
नेपाल रेल्वेका कर्मचारीहरु असुरक्षित महसुस गर्दै सुरक्षाको माग गरेका छन् ।
भारतीय सीमा जयनगरमा रहेको नेपाल रेल्वे परिसरको आवासीय क्षेत्रमा असमाजिक तत्वहरुले कर्मचारीहरुलाई त्रसित बनाएका छन् । नेपाल रेल्वेमा कार्यरत भारतीय र नेपाली कर्मचारीहरुको आवास रहेको रेल्वे परिसरमा असमाजिक तत्वहरुले उपद्रव गरिरहेको उजुरी राजकीय रेल्वे पुलिस जयनगरमा दर्ता गराएका छन् ।
रेल्वेमा कार्यरत कर्मचारीहरु स–परिवार आवास क्षेत्रमा बस्दै आएका छन् । झण्डै तीनवर्ष देखि नेपाल रेल्वेमा कार्यरत कर्मचारीहरु रेल्वेको आवास क्षेत्रमा रहँदै आएका छन् । तर पछिल्लो समयमा अवाञ्छित तत्वहरुले रातदिन उपद्रव गर्ने र विरोध गर्दा अनेक प्रकारको धम्की दिने गरेको उजुरीमा उल्लेख गरिएको छ ।
मध्यरातिसम्म हो–हल्ला, गालीगलौज गर्ने, बालबालिका र महिलाहरुलाई अभद्र गाली दिने, ज्यान मार्ने धम्की समेत दिने गरेको आवेदनमा उल्लेख गरिएको छ । भारत सरकारको सहयोगमा नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सन् २०२२ को अप्रिल २२ तारेखबाट सञ्चालन भएको हो । त्यस बखतदेखि नै कर्मचारीहरु रेल्वे परिसर आवास क्षेत्रमा बस्दै आएका छन् । रेल्वे आवास क्षेत्रमा अधिकांश भारतीय कर्मचारीहरु रहने गरेका छन् ।
जयनगर भारतमा पर्छ । त्यसको सुरक्षाको जिम्मेवारी पनि भारतीय प्रहरी र रेल्वे प्रहरीको छ । नेपालको सशस्त्र प्रहरी जयनगरसम्म रेलमा चढेर जाने र तस्करी हुने मालसमानहरुको यकिन गरी फर्किने बाहेकको काम गर्दैनन् । नेपाली रेल्वे स्टेशन क्षेत्रमा समेत भारतीय एसएसबी र भारतीय रेल्वेका सुरक्षाकर्मीहरु तैनाथ रहने गरेका छन् । तर उनीहरुले कर्मचारी आवास क्षेत्रमा भइरहेको अवाञ्छित गतिविधि रोक्न चासो लिएका छैनन् ।
कर्मचारीहरुले आफूलाई असुरक्षित महसुस गर्दै सुरक्षाको माग गरेका छन् । नेपाल रेल्वेमा कार्यरत कर्मचारीहरु भए पनि नेपालका सुरक्षाकर्मीहरुको क्षेत्राधिकार भित्र जयनगर क्षेत्र नपर्ने बताइन्छ । भारतीय सुरक्षाकर्मीहरुले आफूहरुलाई माथिल्लो निकायबाट कर्मचारीहरुको आवास क्षेत्रमा सुरक्षा दिने निर्देशन नरहेको बताउँदै जिम्मेवारीबाट पञ्छिने गरेको बताइन्छ ।
नेपाल रेल्वे कम्पनीको कर्मचारी भारतीय भूमिमा रहने गरेकाले दुवै देशका सुरक्षाकर्मीबाट सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनीहरुको माग छ । कोँकण रेल्वेका १४ जना र करिब ३६ जना नेपाली कर्मचारी आवास गृहमा स–परिवार रहँदै आएका छन् । त्यहाँ ४६ वटा आवास गृह रहेका छन् । आवास गृहमा कर्मचारी बस्न थालेको तीन वर्ष हुन लाग्दा पनि त्यहाँको सुरक्षा जिम्मेवारी भारतीय रेल्वे, एसएसबी र नेपाली प्रहरीले हालसम्म लिएको छैन ।
जयनगर जाने र त्यहाँबाट छुट्ने समयमा मात्र एसएसबीका सुरक्षाकर्मीहरु रहने गरेका छन् । नेपालको सशस्त्र प्रहरी बलका दुई/तीन जवान नेपालको इनर्वा स्टेशनबाट चढेर जाने र त्यसै टे«नमा फर्कने गरेका छन् । उनीहरु सुरक्षाका लागि नभइ तस्करीको मालसमान यकिन गर्न मात्र जाने गरेका छन् । जयनगरबाट फर्किने रेलमा तस्करी गर्नेहरुसित इनर्वामा रकम असुल गरी छाड्ने गरेका छन् । विगतमा झैँ हाल पनि रेल तस्करीका लागि सुरक्षित साधन बनेको छ ।
भारतीय रेल्वे प्रहरीकी इञ्चार्ज बीणा देवीले आफ्नो जिम्मेवारीमा नेपाल रेल्वेको सुरक्षा नरहेको प्रष्ट बताएकी छन् । कर्मचारीहरुले सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै उनलाई निवेदन दिए पनि खासै चासो नलिएको बताइएको छ । नेपाल–भारतको तर्फबाट सुरक्षाको ग्यारेन्टी नभएपछि कर्मचारीहरुले रेलसेवा बन्द गरी फर्किने बताएका छन् ।
कोँकण रेल्वे भारतको तर्फबाट नेपाल रेलवे सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका एलएस मिनाले कर्मचारीहरुको जिउ ज्यानको सुरक्षा नभएपछि छाड्न बाध्य हुने बताएका छन् । नेपाल– भारतबीचको रेल सेवा दुई देशबीच सम्बन्धको समेत प्रतीक रहेकाले आफूहरु असुरक्षित अवस्थामा पनि सेवा दिइरहेको बताउँदै उनले भने , ‘तर अब अति भइसकेकाले हामी बस्न सक्ने अवस्था छैन ।’ पुसको ६ र ७ गते अवाञ्छित तत्वहरु आवास गृहको टंकीमा चढेको बताउँदै मिनाले भने, विरोध गर्दा ज्यान मार्ने धम्की दिँदै तथानाम गालीगलौज गरे ।
एकाबिहानै देखि मध्यरातसम्म आवास परिसरमा निर्वाध रुपमा गाँजा, रक्सी, ड्रग खानेहरु समूह बनाएर रहने गरेका छन् । उनीहरुका अनुसार सँगै रहेको युनियन टोलका वासिन्दाहरुले उपद्रव गरिरहेका छन् । रेल्वेका कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूति गराउन जीएम निरञ्जन झाले समेत चासो नलिएको कर्मचारीहरुको आरोप छ ।
कर्मचारीहरुले तत्काल सुरक्षाको प्रत्याभूति नभए सेवा बन्द गरी आ–आफ्नो क्षेत्रमा फर्किने जनाएका छन् । रेल्वेको प्राविधिक पक्ष भारतीय कोँकण रेल्वेका कर्मचारीहरुले नै हेरिरहेका छन् । नेपालबाट साँझ जाने रेल यात्रुलाई ओरालेर नेपाली भूमि इनर्वा स्टेशनमा राखिने गरिन्छ । सुरक्षाकै कारण रेललाई नेपाली भूमिमा ल्याएर राति राख्ने गरिएको एक जना कर्मचारीले बताए । इनर्वामा नेपाल र सशस्त्र प्रहरी दुबैको चौकी रहेको छ ।