
वीरगञ्जका विभिन्न क्यासिनो अपराधको अखाडा बन्दै गएका छन् । विभिन्न होटलबाट संचालित क्यासिनोको कारण देहव्यापारदेखि हुन्डीको कारोबार समेत हुने गरेको छ ।
वीरगञ्जको आदर्शनगरमा रहेको लर्डस दियालोको किंग्स क्यासिनो विभिन्न अपराधको अखडा बन्दै गएको छ । स्थानीय प्रहरी प्रशासनलाई मिलाएर क्यासिनोका सञ्चालक कमल भन्ने सुजन केसीले क्यासिनाबाट हुन्डीको कारोबार गरिरहेको खुलासा भएको छ । भारतबाट नेपालमा भइरहेको अवैध सुनको कारोबारको कारण भारतीय रुपैयाँको माग बढेपछि क्यासिनोबाट भारतीय रुपयाँको हुन्डी हुने गरेको एक कर्मचारीले बताए ।

चारतारे होटेल दियालो लर्डसमा क्यासिनो सञ्चालनको लागि पर्यटन विभागले मिनि संचालनको स्वीकृति दिए पनि प्रहरी प्रशासनलाई मिलाएर किंग्स क्यासिनोमा अवैध तास जुवाको टेबुलहरु सञ्चालन गर्ने गरिएको छ । विभागले अत्याधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको इजाजत दिए पनि क्यासिनोमा आधा दर्जनभन्दा बढी म्यारेज, किटी, फ्लास र वैकरेट जस्ता कार्डगेमहरु सञ्चालन भइरहेको छ । नेपालको कानुनले क्यसिनोमा नेपालीहरुको प्रवेश निषेध गरे पनि वीरगञ्जका क्यासिनोहरुमा “ भारतीय नागरिकभन्दा बढी नेपालीहरुको प्रवेश गराइएको तथ्य बारम्बार सञ्चारमाध्यममा उजागर भएको छ ।
स्थानीय प्रहरी प्रशासनदेखि पर्यटन विभागका प्रमुख र संसदका अर्थसमितिका पदाधिकारीहरु समेतलाई नजराना दिएर अवैध जुवा सञ्चालन गर्ने गरिएको छ । जसका कारण क्यासिनोमा सीमावर्ती भारतीयहरुसंगै दर्जनौँ नेपालीहरु जुवातास खेल हुँदै आएका छन् । क्यासिनोमा विशेष गरी बैंक, बीमा, जग्गा कारोबारी, सुनचाँदी कारोबारी र नेपाली नागरिकहरु प्रसस्तै मात्रामा जाने गरेको र उनीहरुलाई रोक्नु भन्दा झन् बिल्लीबाठ बनाएर घर फर्काउने गरेको बताइन्छ ।
यतिमात्र होइन नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेको संविधान सभासदस्य अनिल रुगटाको होटल दियालो लर्डसमा सञ्चालित होटेल किंगस क्यासिनोले कानुनको खिल्ली उडाउँदै चिठ्ठा उपहारदेखि लिएर भारतबाट नर्तकी मगाएर रासलीला कार्यक्रम चलाउँदै आएको छ । चिठ्ठा जस्तो आर्थिक अवैध कार्यक्रमलाई कानुनले नै प्रतिवन्ध लगाएको छ ।
किंग्स क्यासिनोमा खेलाइने तास जुवामा प्रयोग हुने कार्डसमेत भारतको दिल्लीबाट अवैध रुपमा मगाउने गरिएको छ । दिल्लीमा निर्माण गरिने किंग्स लेखेको प्लेकार्ड दिल्लीबाट रक्सौल र रक्सौलबाट तस्करीको माध्यमबाट वीरगञ्जमा ल्याउने गरिएको छ । यसबारे क्यासिनोका सञ्चालक कमल केसीसंग कुरा गर्दा उनी सम्पर्कमा आएनन् ।
किंग्स क्यासिनोको पहिलो प्रवेशद्वारमै सांकेतिक घण्टीको व्यवस्था गरिएको छ । स्थानीय प्रशासनले छड्के चेकजाँच गरिहाले पनि त्यहाँ तैनाथ सुरक्षाकर्मीले घण्टी थिचे पछि माथि रहेका नेपाली खेलाडीहरु अर्को बाटो प्रयोग गरेर होटेलको बाटोबाट रुपमा पु¥याउने गरिन्छ । स्थानीय प्रहरी प्रशासनको चेकजाँचमा नेपालीहरु फेला पर्दैनन् । तर क्यासिनोमा नेपाली खेलाडीको प्रवेशमा कुनै रोकटोक छैन ।
क्यासिनो संञ्चालक केसी केही चिनजानका साथीभाई भेट्न आउँदा अरु पनि साथी लिएर आउने र उनीहरु मित्रताकै कारण क्यासिनोमा प्रवेश गर्ने घटना यदाकदा हुने गरेको स्मरण गर्दै घुमाउरो पारामा नेपालीको प्रवेश स्वीकार भने गर्छन् । केसीको कागजका आधारमा भारतीयलाई प्रवेश दिने गरिएकोले सीमावर्ती क्षेत्रमा यताका नागरिकको उताको कागजात पनि हुने भएकोले नेपालीको प्रवेश भनिएको हुन सक्ने उनले जिकिर गरे ।