लामो समयदेखि चर्चा र प्रतीक्षाको केन्द्रमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केवर– पथलैया सडक आयोजना (पूर्वी खण्ड) स्तारोन्नतिको काम थालिने भएको छ ।
पूर्वी खण्डको कमला– ढल्केवर– बागमती ७४.७५ किलोमिटर लम्बाइएको सो सडक विस्तारका लागि प्रक्रियागत कामहरु अन्तिम चरणमा पुगेको र निर्माण सुरु गर्न निर्धारित समयको प्रतीक्षामा रहेको कमला–ढल्केवर–पथलैया सडक आयोजनाले जनाएको छ । आ
योजना प्रमुख छविलाल पौडेलले बताए अनुसार विश्व बैंकको १८ अर्ब ६० करोड सहयोगमा पूर्वी खण्डको सन् २०२५ जनवरी १ अर्थात् पुस १६ गतेदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी तीन ठाउँबाट एकै साथ स्तरोन्नति हुन लागेको छ । कामलाई गति दिन बुधबार बर्दिबासको गौरीडाँडास्थित आयोजनाको कार्यालयमा बसेको बैठकले बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्रीको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा स्तरोन्नति हुने सडक खण्डमा पर्ने वडाका वडाध्यक्षहरु, आयोजना प्रमुख छविलाल पौडेल, परामर्शदाता, निर्माण व्यवसायी कम्पनीका प्रमुखहरुको प्रतिनिधित्व गरेका छन् । त्यस्तै इन्जिनियरहरु भोलाप्रसाद साह, राजकिशोर सिंह र रमेशकुमार पाण्डेयको संयोजकत्वमा क्रमशः लट नं १, २ र ३ का लागि गुनासो व्यवस्थापन उपसमितिसमेत गठन गरिएको छ ।
नेपाल सरकार र विश्व बैंकबीच १७ जुलाई २०२० मा भएको वित्तीय सम्झौता (फाइनान्सिङ एग्रिमेन्ट) कार्यान्वायनका लागि गुनासो व्यवस्थापन समिति र उपसमिति गठन गरिएको छ । सडक स्तरोन्नतिका लागि तयार पारिएको वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भए बमोजिम निर्माण कार्यान्वयनका क्रममा देखा पर्ने समस्या, गुनासो, विरोध र विमति जस्ता परिस्थितिको उचित व्यवस्थापन गरी आयोजना कार्यान्वयनलाई प्रभावकारी ढंगमा अघि बढाउन समिति गठन गरिएको छ ।
राजमार्ग स्तरोन्नतिका अघिल्ला प्याकेजहरु सुस्त गतिमा भएको भन्दै आलोचना भइरहेको बेला कमला– ढल्केबर–पथलैया सडक आयोजनाको पूर्वी खण्डको काम तीव्र गतिमा अघि बढाउन तीन लटमा ठेक्का व्यवस्थापन गरिएको पौडेलले बताए । स्तरोन्नति हुन लागेको पूर्वी खण्डको पहिलो लटमा पर्ने कमला–बडहरी २२.०७ किलोमिटर सडक इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले ५८० करोडमा ठेक्का कबोल गरेको छ । त्यस्तै दोस्रो लटमा पर्ने बडहरी–फुलजोर २९.७४ किमी र तेस्रो लटअन्र्तगतको फूलजोर–बडहरी २२.९४ किमी चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्सट्रक्सन कम्पनी आरसीसी ज्वाइन्ट भेन्चरले एक हजार २८० करोडमा ठेक्का लिएको गौरीवासस्थित कमला– ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।
आयोजना प्रमुख पौडेलले सो ठेक्का कमला र बागमती पुल बाहेकको बताए । पूर्वी खण्डमा पर्ने दुवै नदीमा नयाँ प्रविधिको सिग्नेचर पुल वन्ने निश्चित प्रायः भए पनि यसको ठेक्का भने अझै लागि नसकेको उनले बताए । अहिलेको दुई लेनको पूर्वपश्चिम महेन्द्र राजमार्गलाई एशियाली मापदण्ड अनुसार १८ मिटर चौडाइको ४ लेनमा स्तरोन्नति गर्न लागिएको छ ।
मध्यभागमा रहेको ४ मिटर चौडाइको ‘मेडियन’ ले सडकलाई दुई–दुई लेनमा छुट्टयाउने उनले बताए । सडकलाई ४ लेनमा स्तरोन्नति गर्ने भनिए पनि बजार तथा व्यापारिक क्षेत्रमा सडकको दुवैतर्फ साढे ६/साढे ६ मिटर सर्भिस लेनसहित ६ लेनको सडक हुने छ । यी स्थानका सडकलाई ३१ मिटर फराकिलो पार्ने जनाइएको छ ।
यसका साथै धनुषाको वीरेन्द्रबजार, सर्लाहीका लालबन्दी, नवलपुर, हरिवन र नयाँरोडमा फ्लाइओभरसहित अण्डरपास निर्माण गरिने उनले बताए । उनले भने, ‘अब निर्माणले गति लिनेछ । पूर्वी खण्डमा सन् २०२५ को जनवरी १ तारिखबाट तीनवटै लटको कार्य एकैसाथ प्रारम्भ गरी ३ वर्षभित्र स्तरोन्नति गरिसक्नु पर्ने छ । ठेकेदार कम्पनीहरुले निर्माण सम्पन्नसाथ जिम्मेवारीबाट पञ्छिन पाउने छैनन् ।
पाँच वर्षसम्म मर्मतसम्भार पनि उनीहरुले नै गर्नुपर्ने सम्झौता भएको छ ।’ गुनासो व्यवस्थापन संयोजक तथा बर्दिवासका मेयर प्रह्लाद क्षेत्रीले राजमार्गको स्तरोन्नतिले सम्पर्क सञ्जाल विस्तार भइ राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार आवागमन सहज हुने र सर्वसाधारणको जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो सडक छिटो बनोस् भन्ने सबैको चाहना भएको बताए ।