अपडेट 
२०८१ पुष ११, बिहीबार ०९:२६

धनुषामा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।

मिथिला नगरपालिका– ३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।

बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए।

हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादको क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक साहले बताए।

प्रहरीका अनुसार श्रीमान–श्रीमतीबीच दिनहुँजसो विवाद भइरहेको हुन्थ्यो। बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच विवाद भएको उनकी बुहारीले प्रहरीलाई बताएकी छन।

‘श्रीमान रक्सीले लठ्ठिएका थिए। साँझतिर बुहारीले सासु कहाँ छन् भनेर सोधपुछ गर्दा घर पछाडी मारेर फालदिएको बताएछन्। त्यसपछि परिवारले प्रहरीलाई बोलाएछन्, खाल्डो खन्दा शव भेटियो,’ प्रहरी निरिक्षक साहले भने।

शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News