२०८१ पुष १२, शुक्रबार ०७:२४

नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले डा. दीपक शाक्य गैर कानुनी रूपमा आफ्नो छोराको नाउँमा जग्गा भाडामा लगाएको आरोप लगाएकी छन् । सञ्चारकर्मीहरुसंग बिहीबार कुरा गर्दै अध्यक्ष न्यौपानेले बोर्डका सदस्यले आफै निर्णय गराएर आफ्नो छोराको नाममा जग्गा लिजमा लिन नपाइने बताइन् ।

‘एक पटक आफूलाई भेट्न आउँदा तपाईले कौडीको मोलमा गैरकानुनी रूपमा जग्गा लिनु भयो र त्यो पैसा पनि नियमित रुपमा तिर्नु हुन्न भनेर प्रश्न गरेकी थिएँ’ उनले भनिन् ‘त्यसपछि केही लाख रुपैयाँ हालेको सुनेको छु, तर पनि पूरा पैसा तिरेका छैनन् ।’ बाल मन्दिरको जग्गा देशैभरि अवैध रुपमा लिजको नाममा अनियमितता भएको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले अवैध ढंगले लगाइएको लिज तोडने बताइन् ।

लिजमा दिने बैठकको निर्णयमा डा.शाक्य स्वयं रहेको र उनकै २२ वर्षीय छोराको नाममा दिएको उनले बताइन् । ‘देशभरि नै बाल मन्दिरको जग्गाको विषयमा अध्ययन अनुसन्धान भइ रहेको कतिपय मुद्दाहरु अदालतमा विचाराधीन रहेको छ ’ उनले भनिन् पर्सा बाल मन्दिरको जग्गाको विषयमा मलाई जानकारी छ ।

अध्यक्ष न्यौपानेले अब यो प्रक्रिया नयाँ ढंगले अगाडि बढ्ने बताइन् । डा. शाक्यका छोरा संकल्प शाक्यले सो जग्गामा आदर्श विद्यालय सञ्चालन गरिरहेका छन् । मासिक २१ हजार १ सय भाडामा १२ कठ्ठा जग्गा संकल्पको नाममा लिज लिएको छ । स्थानीय चलन चल्ती अनुसार आदर्श नगरको सो जग्गाको कठ्ठाको प्रति महिना १ लाखभन्दा बढी भाडा आउने देखिन्छ ।

वार्षिक झण्डै डेढ करोड बहाल आउने जग्गा २७ वर्षका लागि शाक्यले २१ हजार १ सय प्रति महिनाको दरले लिजमा लिएका छन् । हाल सम्म १३ वर्ष बितिसकेको छ । तर शाक्यले बहाल रकम पनि समयमा बुझाइरहेको छैन । अध्यक्ष न्यौपानेले कारबाही गर्ने धम्की दिएपछि केही लाख जम्मा गरे पनि अझै २५ लाख बढी रकम बक्यौता रहेको बताइन्छ ।

आर्थिक चलखेल गरी बोर्डका पदाधिकारी र सदस्यहरुलाई प्रभावमा पारेर शाक्यले अवैध रुपमा जग्गा हड्पेको आरोप लागेको छ । पर्सामा बाल मन्दिरको जग्गालगायतका चलअचल सम्पत्तिको विषयमा अनुसन्धान गर्न आएकी अध्यक्ष न्यौपानेले शाक्यले सबै रकम तत्काल जम्मा नगरे कानुन बमोजिम कारबाही गर्ने बताएकी छन् ।

शाक्यले अवैध ढंगले लिएको लिज खारेज गरी प्रतिस्पर्धाबाट लिजमा लगाउन स्थानीयहरुले अध्यक्ष न्यौपानेको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लिज खारेज नगरिए संघर्षमा उत्रिने अध्यक्ष न्यौपानेलाई चेतावनी समेत दिएका छन् । मधेश विश्वविद्यालयका उपकुलपति समेत रहेका डा. शाक्यले देश भित्र मात्र नभइ विदेशमा समेत आफ्नो निजी वीरगञ्ज पब्लिक कलेजको प्रवद्र्धन गर्न पदको दुरुपयोग गरेको देखिन्छ ।

हालै एक कार्यक्रममा अस्ट्रेलिया पुगेर ग्राण्ड जुरीको हैसियतमा आफ्नो कलेजलाई काठमाण्डु बाहिरको उत्कृष्ट कलेज भनि आफैले आफूलाई पुरस्कृत गरेका थिए । मधेश विश्वविद्यालयको उपकुलपतिको हैसियतमा ग्राण्ड जुरीको रुपमा आमन्त्रण गरिएको थियो । तर उनले आफ्नो पदको चरम दुरुपयोग गर्दै आफ्नो निजी कलेज वीरगञ्ज पब्लिक कलेजलाई उत्कृष्ट भएको भन्दै पुरस्कृत गरे ।

त्यसको व्यापक आलोचना भइरहेको छ । आर्थिक चलखेल गरी पद हत्याउने र त्यसको चरम दुरुपयोग गर्ने शाक्यको उपकुलपतिमा भएको नियुक्ति प्रक्रिया नै अवैध रहेको आरोप लाग्दै आएको छ । २०७९ सालको आम निर्वाचनको आचारसंहिता लागु भइसकेको अवस्थामा शाक्यले पछिल्लो मितिबाट नियुक्ति पत्र लिएका थिए ।

तर त्यो नियुक्ति सम्बन्धी कागजातहरु समेत सरकार सित नरहेको बताइन्छ । तर आर्थिक चलखेलमा शाक्यको नियुक्ति प्रक्रियाको अनुसन्धान अगाडि बढेको छैन । व्यवस्था अनुसार आफूलाई ढाल्न काबिल मानिएका शाक्यले मधेश विश्वविद्यालयमा आफ्ना कलेजमा कार्यरतहरुलाई बिना प्रक्रिया नियुक्त गरेको आरोप लागेको छ ।

केही नेताका आफन्त र सिफारिसमा कर्मचारी भर्ना गरिएको छ । मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालयलाई धराशायी बनाए पनि शाक्यले चाँजोपाँजो मिलाएर सिनेट बैठक सम्पन्न गरिसकेका छन् । यद्यपि विश्वविद्यालयका लागि तत्कालीन अर्थमन्त्री माओवादीका नेता भरत साहले १० लाख मात्र बजेट विनियोजन गरेका थिए । बजेट अझै पनि थपिएको छैन ।

Comment


Related News

Latest News

Trending News