रकमको चलखेल गरी विद्यार्थी भर्ना गरेको समाचार जनकपुर टुडेको प्रभावका कारण सन्त अल्पमाई रामनारायण यादव बहुप्राविधिक शिक्षालय मलंगवाका शिक्षालय प्रमुख वीरेन्द्र बाबु यादवमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
डिप्लोमा फार्मेसीको पूर्ण शुल्कीय कार्यक्रममा विद्यार्थी भर्ना गर्दा शिक्षालय प्रमुख यादवले रकमको चलखेल गरी वैकल्पिक उम्मेदवारलाई भर्ना गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढेको परिषद्ले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेशमा मिति २०८१ मंसिर १६ गतेका दिन विद्यार्थी भर्नामा अनियमितता भएको भन्दै उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रदेश परिषद् जनकपुरधामबाट उपनिर्देशक दिनेश कुमार मल्लिक, परीक्षा अधिकृत सत्यदेव पण्डित र सूचना अधिकारी मदन कुमार साह सहितको टोलीले छानबिन समिति गठन गरी डिप्लोमा फार्मेसीको पूर्ण शुल्कीय कार्यक्रममा विद्यार्थी भर्ना गरेको सम्पूर्ण कागजात झिकाई अध्ययन गरेको थियो ।
शिक्षालय प्रमुख यादवले विद्यार्थी भर्ना गर्दा छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८१ को दफा २४ अनुसार प्रक्रिया अपनाएको थिएन । भर्ना प्रक्रियामा व्यापक लापरबाही र अन्योलता देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । फार्मेसी संकायको विद्यार्थी भर्नामा वैकल्पिक उम्मेदवार १ नम्बर खाली भएको ठाउमा पुनः विद्यार्थी भर्ना गर्दा २ नम्बरलाई उच्च प्राथमिकता राखेर भर्ना प्रक्रिया अगाडि बढाइएको थियो ।
यसका साथै उपल्लो निकाय प्रदेश परिषद् तथा केन्द्र परिषद्संग समेत परामर्श गर्नु पर्ने नियम छदाँछदँै आफू खुसी शिक्षालय प्रमुख यादवले १७७ नम्बरको वैकल्पिक उम्मेदवार रुनी कुमारी सि.नं. ४०४७४४ लाई गरेकोले कुमारीको भर्ना समेत रद्द गरी शिक्षालय प्रमुख यादवलाई कारबाही प्रक्रिया अगाडि बढाएको परिषद्को प्रतिवेदनमा उल्लेख गरिएको छ ।