देशको कुल राजस्वको ५० प्रतिशत कर मधेश प्रदेशबाट उठे पनि सात वटै प्रदेशमा सबैभन्दा कम बजेट राज्यले मधेश प्रदेशलाई दिने गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले बताएका छन् ।
संघीय सरकारले उपलब्ध गराउने बजेटबाट सरकार सञ्चालनमा समस्या भएको मुख्यमन्त्री सिंहले बताए । प्रादेशिक अस्पताल सर्लाहीको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै उनले प्रदेश सरकारलाई सञ्चालनमा बजेटको थप आवश्यकता रहेको बताए ।
आर्थिक वर्ष ०८०/०८१ मा प्रदेश स्वास्थ्य मन्त्रालयको बजेट ६ अर्ब रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षमा सो बजेट घटेर ५ अर्बमा छ । चालु आर्थिक वर्षमा संघीय सरकारले उपलब्ध गराएको बजेटबाट स्वास्थ्यकर्मीको तलब र औषधि खरिद कार्य, इन्धनमा समेत अपुग हुने अवस्था छ । यसरी बजेट घट्दै जादाँ आमजनताको अपेक्षा अनुसार काम गर्न समस्या हुने मुख्यमन्त्री सिंहको भनाइ छ ।
आकस्मिक भवनको उद्घाटन कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा उपस्थित रहेका थिए । स्वास्थ तथा जनसंख्या मन्त्री सिंहले स्वास्थ्य बीमा कार्यक्रमलाई शतप्रतिशत कायम गर्ने नीति अनुसार प्रदेश सरकार काम गरिरहेको बताए । उनले भने चिकित्सक भनेको भगवानको अर्को रुप हो ।
अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई उच्च चेतनाका साथ सेवा प्रवाहमा जोड दिन चिकित्सकहरुलाई आग्रह समेत गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह, उपप्रमुख जितेन्द्र कुशवाहालगायतका व्यतिmहरुले मन्तव्य राखेका थिए । प्रादेशिक असपताल सर्लाहीका व्यवस्थापन समिति अध्यक्ष सतीश कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा असपतालका कर्मचारी, स्थानीय जनप्रतिनिधिलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।