अपडेट 
२०८१ पुष १३, शनिबार ०८:०३

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरधाममा सम्मानसहित नगर परिक्रमा गराइएको छ ।

जनकपुरधाममा शुक्रबार रजौलस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाको संयोजनमा खेलाडीहरुलाई सम्मानमा ट्रफी परेडसहित जनकपुरधाम उपमहानगरको नगर परिक्रमा गराइएको छ । मुख्यमन्त्री सतीशकुमार सिंह र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले खेलाडीहरुलाई सम्मान तथा स्वागत गर्दै जनकपुरधामको नगर परिक्रमामा सहभागी भएका थिए ।

खेलाडीहरूसंगै हजारौँ समर्थकहरु पनि जनकपुरधामको नगर परिक्रमामा सहभागी थिए । उनीहरूलाई जनकपुरधामका विभिन्न चोक–चोकमा भव्य स्वागत गरिएको थियो । रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट बिहान शुरू भएको ट्रफी परेड ब्रह्मपुरी चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरंग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, राम चोक, जनक चोकहुँदै जानकी मन्दिरमा पुगी नगर परिक्रमा समापन भएको थियो ।

नगर परिक्रमाको अवसरमा जनकपुरधामका नागरिक समाज, खेल प्रेमी, खेल समर्थकलगायतको सहभागिता रहेको थियो । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाममा नगर परिक्रमा गरेको थियो । जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजयोत्सव पनि मनाउने तयारी गरेका छन् । विजयोत्सवको आरम्भ जनकपुरधामबाटै गरिएको छ ।

जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा विजयोत्सव मनाइने जानकारी दिए । प्रबन्धक खतिवडाले शुक्रबार पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, शनिबार दोस्रो दिन महोत्तरीको जलेश्वर, सर्लाही र रौतहट, आइतबार तेस्रो दिन बारा र पर्साको वीरगञ्ज र सोमबार चौथो दिन सिरहा र सप्तरीको राजविराजमा ट्रफी परेड गरिने जानकारी दिए । टिममा रहेका विदेशी खेलाडीहरू फर्किइसकेकाले अन्य खेलाडीहरू विजयोत्सवमा सहभागी हुने उनले बताए ।

नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टिम बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन पनि गरेको छ । यसअघि मुख्यमन्त्री सिंहले रंगशाला मैदानमै पुगेर खेलाडीहरूलाई सम्मान गरेका थिए । पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बनेको थियो ।

Comment


Related News

Latest News

Trending News