अपडेट 
२०८१ पुष १४, आईतवार ०७:०२

तराई–मधेशमा सञ्चालनमा रहेका मिनी क्यासिनोहरुमा अपराधिक गतिविधि बढ्दै गएको छ । मिनी क्यासिनोले मेसिनबाट गेम खेलाउन मात्र पाउने प्रावधान रहे पनि स्थानीय प्रहरी–प्रशासनको सेटिङ मिलाएर ठूला क्यासिनोमा झैँ जुवा खेलाउने गरिएको छ ।

वीरगञ्जको लर्डस् दियालो क्यासिनोमा इजाजत लिएको बाहेक तासबाट जुवा खेलाइने गरिएको पाइएको छ । जुवा खेलाइने तास भारतबाट आयात गरेको लर्डस् दियोलोले तास खेलाउने टेबुलहरु भाडामा लगाएको छ । नेपालमा दुई किसिमको क्यासिनो छ । पहिलो, पाँचतारे होटलमा सञ्चालित ठूला क्यासिनो छ । त्यहाँ लाइभ जुवा नै चल्छ ।

दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनोहरु छन् । जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको नियम विपरीत वीरगञ्जको लर्डस् दियालोमा रहेको किग्ंस क्यासिनो तास जुवाको टेबुलहरु सञ्चालन गरिरहेको छ ।

सविधान सभासदस्य समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको होटल लर्डस् दियालोमा सञ्चालित क्यासिनो सरकारी पहुँच र स्थानिय प्रशासनको सहयोगमा खुलेआम तास जुवा खेलाइने गरिएको छ । किग्ंस क्यासिनो मिनी क्यासिनोको इजाजत लिएपछि फ्लास, पप्लु मैरेज जस्ता तास जुवाका टेबुलहरु सञ्चालन गरिएको छ ।

७९ लाख रुपैयाँ धरौटीमा किग्ंस क्यासिनो सञ्चालनको इजाजत प्राप्त दियालो गेमिङ्ग प्रालि स्थानीय जितपुर सिमराका एक व्यक्तिलाई पप्लुको टेबुल संचालन गर्न सम्झौता गरेको छ । दियालो गेमिङ्गको तर्फबाट सुजन केसी र पप्लुको टेबुल सञ्चालन गर्ने दोश्रो पक्षको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिका– ७ का अजित कुमार गुप्ता छन् ।

किंग्स मिनी क्यासिनोमा सञ्चालन हुने पप्लु र मैरिज दुई टेबुलमध्ये पप्लुको टेबुलबाट प्रत्येक रात्रि गेमबाट हुने आम्दानी रकम मध्ये ३० प्रतिशत दियालो गेमिङ्गलाई दिने सर्त सम्झोता पत्रमा उल्लेख छ । सम्झौता सम्बन्धमा क्यासिनो सञ्चालकसित सम्पर्क गर्दा कुनै प्रकारको कार्य नभएको दाबी गरेका छन् । भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरुको समेत भीड लाग्ने गरेको छ ।

त्यसबाट कयौं नेपाली परिवारको विचल्लीको अवस्था छ । किग्ंस क्यासिनोले संचालन गरको तास जुवाबाट वीरगञ्जका कतिपय करोडपति व्यापारी युवाहरु सडकमा आएका छन् । किंग्स क्यासिनोमै मैरिज ,पप्लु र फलासको जुवाबाट वीरगन्ज माइस्थानका रौनियार थरका कपडा व्यापारी घर न घाटका बनेका छन् ।

सिमरा जितपुरमा रहेका धनाढ्य गुप्ता, गिरिलगायत वीरगञ्जका अग्रवाल थरका औषधि व्यवसायी क्यासिनोको पप्लु मैरिजको रेगुलर खेलाडी रहेको बताइन्छ । क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावली अनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्तापुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रुपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । तर क्यासिनोहरुले सो मापदण्ड मानेका छैनन् ।

वीरगञ्जको अधिकांश मिनी क्यासिनोहरु सरकारी नियमलाई बेवास्ता गर्दै खुलेआम जुवातास सञ्चालन गर्नुका साथै समय समयमा भारतबाट नर्तकी समेत ल्याएर नचाउने देखि देह व्यापार र लक्की ड्रा संचालन समेत गर्ने आरोप लाग्ने गरेको छ ।

वीरगञ्जको आदर्श नगरमा रहेको लर्डस् दियालो होटलमा सञ्चालित किग्ंस क्यासिनो भारतको सीमाबाट ५ किलोमिटर भन्दा नजिकै रहेको छ । सो क्यासिनोले भारतीय ग्राहक ओसारपसारको लागि सञ्चालन गरेको भारतीय नम्बरको गाडी समेत सेटिंगमै चलेको एकजना कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताए ।

क्यासिनोहरुले अवैध रुपमा भारतीय नम्बरको गाडी प्रयोग गर्दा पनि प्रशासन मुकदर्शक बन्ने गरेको छ । एकातर्फ मापदण्ड विपरीत क्यासिनो सञ्चालन हुने र अर्काेतर्फ भारतीय ग्राहकबाट आम्दानी हुने भारतीय रुपैयाँको हुण्डी कारोबारसंगै नेपालीहरुलाई खुलेआम प्रवेश दिने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News