समग्र औषधिको सुधार र मूल्य समायोजनतर्फ सरकारको अग्रसरता माथि जोड दिइएको छ । नेपाल औषधि व्यवसायी संघ मधेश प्रदेश दोस्रो प्रादेशिक अधिवेशनका अवसरमा व्यवसायीहरुले औषधिको मूल्य समायोजन नहुँदा अवैधानिक बाटोले औषधिको व्यवसायको विगबगीको समस्या यत्रतत्र भएको बताए ।
पारासिटल , लिभोसेटिजन जस्ता औषधिमा समेत मूल्य एकरुपता हुन नसकेको प्रति ध्यानाकर्षण गराउँदै सरकारी नीतिको मारमा व्यवसायीहरु रहेको गुनासो गरे । औषधि व्यवस्था विभागको कार्यालयहरु सीमित संख्यामा भएका नवीकरण ,दर्तामा समस्या भइरहेकाले कार्यालयहरु जिल्ला स्तरमा पनि विस्तार गर्न आग्रह गरे ।
कार्यालयका प्रमुखदेखि कर्मचारीहरुले अनावश्यक दुःख दिइ कार्यमा जटिलता उत्पन्न हुने चर्चा गर्दे व्यवसायीहरु नवीकरण , दर्तामा सहजताको माग गरे । औषधिको मार्जिनमा एकरुपता नभएका कारण पनि औषधिको मूल्य एवं पेशाको अवस्था विस्तारै विस्तारै धरापमा पर्ने भइसकेको बताउँदै. अमर्यादित व्यवसाय फस्टाउँदै गएका कारण सरकारले नै नीतिगत रुपमै चोर बनाउने काम गरेको उनीहरुले जानकारी दिए ।
सरकारी नीति दोधारे भएका कारण औषधिको मूल्य एकरुपता नपाइएको भन्दै उनीहरुले औषधिहरुको एक्सपाएर प्रतिशत वषेृनि बढदै गएको प्रति चिन्ता व्यक्त गरे । औषधि व्यवस्था विभागको नीतिगत कमजोरीका कारण औषधिको एक्सपाएर हुने प्रतिशतमा वृद्धि भइरहेको व्यवसायीहरु स्पष्ट गरे ।
प्रक्रियागत जटिलताका कारण गलत तत्वको वर्चश्व हुन पुगेको चर्चा गर्दै औषधि व्यवस्था विभाग सघीयता मर्मलाई अनुशरण नगरेकोतर्फ ध्यानाकर्षण गराए । देशमा संघीयताको व्यवहारिक पक्षलाई औषधि व्यवस्था विभागले आत्मसात नगरी वर्तमानमा पनि पराने संरचनालाई मलजल दिइ रहेको बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मूल्य समायोजन सम्बन्धमा सरकारले उच्चस्तरीय समिति गठन गरिसकेकाले व्यवसायीले असल व्यवसायी बन्ने अभ्यास गर्नु पर्ने धारणा राखे । उनले मूल्य घटी बढी , इम्पोर्टकर्ता र भन्सार जस्ताले अवस्थाले सही तथ्यांक आउन नसकेका कारण अन्योल देखिएको बताए ।
औषधि व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेवालले सरकारले व्यवसाय फस्टाउने मापदण्ड कायम गरी मूल्य समायोजनबारे नीति निर्माण गर्नु पर्ने बताए । उनले औषधिको मूल्य समायोजन स्वचालित प्रक्रिया अन्तर्गत निर्धारण गरेमा व्यवसाय सुरक्षित रहन सक्ने विचार व्यक्त गरे ।
वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले मूल्य एकरुपता बारे व्यवसायी र सरकारबीचको छलफल र निर्धारण महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । प्रदेश अध्यक्ष शिवनाथ सिंहको अध्यक्षतामा भएको अधिवेशनमा उपाध्यक्ष रामचन्द्र शर्मा औषधिको मर्यादा र पसलको मर्यादा कायम गर्नु वर्तमानको चुनौती भएको धारणा राखे ।
जनकपुरधामका पूर्वमेयर बजरंग साह , धनुषा जिल्ला औषधि व्यवसायी महासंघका अध्यक्ष प्रमोद कुमार अग्रवालले सेवा मूल्यांकनमा ह्रास र सम्मानप्रति आएको चिन्ता व्यक्त गरे ।
संघका प्रदेश सचिव पप्पु झाले हरेक जिल्लामा औषधि व्यवस्था विभागको कार्यालय विस्तार गर्न माग गरे । उनले नवीकरण , दर्ताका लागि धनुषा जिल्लाका व्यवसायी वीरगञ्ज र सिरहा र सप्तरी जिल्लाका व्यवसायी विराटनगर जानु पर्ने व्यवस्था संघीयता मर्म अनुसार नभएको प्रसंग उल्लेख गरे ।
जनकपुर उद्योग वाणिज्य महासंघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीले सिद्धार्थ बैंकका पदाधिकारी व्यवसायीलाई बिचल्लीमा पार्ने काम गरेको चर्चा गर्दे व्यवसायी ऋण लिंदा वित्तीय संस्थाप्रति सजग हुनु जरुरी भएको धारणा राखे ।