२०८१ पुष १५, सोमबार ०७:४२

ऐतिहासिक दूधमती नदीको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि सीमांकनको काम शुरु भएको छ ।

दूधमती नदीको उद्गम स्थल क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको अरजवाँ गाउँबाट सीमांकनको काम थालिएको हो । सो अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झालगायतका जनप्रतिनिधिले संयुक्त रुपमा सीमांकनको शुभारम्भ गरेका थिए ।

धनुषा र महोत्तरी क्षेत्रमा कुल २९ किलोमिटरको दूरीमा रहेको दूधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुट्याउने गरी पैनी खन्ने काम पनि थालिएको छ । दूधमती नदी संरक्षण तथा सम्वद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमती नदी विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खनन् गरी नदीको सौन्दर्यकरण गरिने जनाएको छ ।

सो कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभइ नेपाल–भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गन्तव्य रहेको बताए । दूधमती नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षीरेश्वरनाथ नगरपालिका मात्र नभइ धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए ।

सो कार्यक्रममा उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको ड्रीम प्रोजेक्टको रहेको बताए । परियोजनाबारे जानकारी गराउँदै उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतीको बहाव क्षेत्र बाहेक दुवैतर्फ ११्११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँगाउँ नजिक दूधमती र सीता माताको मन्दिरसहित पार्क, प्रत्येक २/२ किलोमिटरको दूरीमा ड्यामको व्यवस्था रहने जनाएको छ ।

मधेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष ०८१÷०८२ मा २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

Comment


Related News

Latest News

Trending News