अपडेट 
२०८१ पुष १५, सोमबार ०७:४५

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिरता र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि नेकपा एमाले– नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बताएका छन् ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा आइतबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम तथा जनसभामा बोल्दै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मधेशको विकास एमालेले नै गर्ने दाबी गरे । उनले समीकरणको ‘म्याजिक नम्बर’ खेल्नेहरुको दिन समाप्त भएको बताउनु भएको छ । उनले बर्तमान समिकरको सरकार मुलुकलाई सहि दिशा दिन बनेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार छ। मुलुकमा रहेका बेथिति, अस्थिरतालाई हटाउन यो सरकार बनेको हो ।’ उनले विगतमा एमाले नेतृत्वको सरकारले थालनी गरेर बीचमा पार्टी सरकारमा नहुँदा अधुरा र अलपत्र परेका विकास निर्माणका योजनाहरु अहिलेको सरकारले सम्पन्न गर्ने बताए ।

प्रधानमन्त्री ओली भने, ‘विश्वास गर्नुस् मधेश र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ, एमालेकै नेतृत्वले गर्छ, अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले नै गर्छ, मधेश र देशको विकासको गति अब अगाडि बढिसक्यो, कसैले रोक्न सक्दैन ।’ उनले देश बनाउने एक मात्रै पार्टी नेकपा एमाले रहेको दाबी गरे ।

एमालेले भन्दै आएको मिसन २०८४ का बारेमा प्रष्ट्याउँदै ओलीले भने, ‘ हामीले मिसन ८४ भनेका छौँ, अब हुने निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न सके मात्रै एमालेको मिसन ०८४ सफल हुने हो । एमालेको एकल बहुमतको सरकार बन्यो भने मात्रै हाम्रो मिसन ८४ सफल हुन्छ ।’ त्यसका लागि देशभरका एमाले नेता–कार्यकर्ता अहिलेदेखि नै एकजुट भएर अगाडि बढ्नु पर्ने उनले भनाइ छ ।

मधेशका सामाजिक र आर्थिक समस्या, विकासका सन्दर्भमा एमाले जानकार रहेको बताउँदै उनले त्यो काम एमालेले नै गर्ने बताए । मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेकाले अब आर्थिक उन्नति हुने क्रान्तिका लागि लाग्नु पर्नेमा जोड दिए । उनले मधेशका जनताको जीवनस्तरमा सुधारका लागि हुलाकी राजमार्ग निर्माणको काम एमाले नेतृत्वकै सरकारले सुरु गरेको जिकिर गरे । उनले यसका साथै हुलाकी राजमार्गमै पर्ने क्षेत्रमा १० वटा स्मार्ट सिटी बनाउने योजना एमाले र अहिलेको सरकारको रहेको बताए ।

तराई– मधेशका १ लाख २५ हजार बिघा बढी जग्गामा सिँचाइका लागि सुनकोशी मरिन डाइभर्सनलाई सिँचाइ आयोजना निर्माणको कामपनि एमाले नेतृत्वकै सरकारले अगाडि बढाएको उनले बताए । कृषिलाई आधुनिकीकरण गर्दै किसानको जीवनस्तर उकास्नका लागि ध्यान दिन एमालेका नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायतलाई अबिर टीका लगाएर एमाले पार्टीमा प्रवेश गराएका थिए । जयसवालको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको कार्यक्रममा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News