काठमाण्डुमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुलाई सप्तरीमा भव्य स्वागत र सम्मान गरिएको छ ।
मधेश प्रदेशको विभिन्न जिल्लामा ट्रफी परेड गर्दै सोमबार साँझ सप्तरी आइपुगेका जनकपुर बोल्ट्सका खेलाडीहरुलाई राजविराजमा भव्य स्वागत तथा सम्मान गरिएको छ । विजयोत्सव मनाउने क्रममा यहाँ आइपुगेको टोलीलाई नगरवासीले फुलमाला अबिर तथा विभिन्न उपहारबाट स्वागत तथा सम्मान गरे ।
विजेता टिमका खेलाडीलाई फुलमालाले ढपक्कै छोपेर ट्रफी सहित नगरपरिक्रमा गराइएको थियो । नगर परिक्रमा पश्चात राजरंगशालामा राजविराज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा कार्यवाहक मेयर इसर परवीनले विजेता टिमका खेलाडीलाई फुलमाला अबिर र कदरपत्रबाट सम्मान गरेको थियो ।
विजेता टोलीसंगै आएका जनकपुर बोल्ट्सका प्रबन्धक उत्सव वाग्ले, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य समेत रहेका क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले पहिलो आयोजनाको विजेता बन्न जनकपुर बोल्टस सफल भएको खुशियालीमा मधेश प्रदेशको ८ वटै जिल्लामा विजयोत्सव मनाउन थालिएको बताए ।