अपडेट 
२०८१ पुष १७, बुधबार ०७:४५

महोत्तरीको बर्दिवास नगरपालिकामा तीन जना छात्राले विष सेवन गरेपछि एकजनाको मृत्यु भएको छ ।

निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका सिरहाको धनगढी नगरपालिका १० का १७ वर्षीया छात्रा रिंकु शर्माको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । शर्मालाई मंगलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जंगली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पु¥याएको थियो ।

अस्पतालका डा. रोशन अधिकारीले अस्पताल पु¥याउनु अघि उनको मृत्यु भइसकेको जनाए । रिंकुका साथै विष सेवन गरेका उषा पण्डित र सञ्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुवै छात्राको अवस्था सामान्य रहेको अस्पतालका डा. उदय दिवाकरले बताए ।

शिक्षालयका प्रशासकीय अधिकृत दाबा योञ्जनले विष सेवन गरेका तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा रहेको बताए । विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ ।

शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिंकुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना भएकी सञ्जुले बताइन् । सोमबार विदाको दिन भएकाले तीनै जना छात्रा पुस्तक किन्न बर्दिवास बजार गएका थिए । पुस्तक किनेपछि रिंकुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सञ्जुको बयानबाट खुलेको छ ।

बर्दिवासबाट खयरमारा फर्किने क्रममा जंगली क्षेत्रमा पुगेर रिंकुले पहिले आधा सिसी विष सेवन गरिन् । रिंकुको करकापमा परेर आफूहरूले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताइन् । रिंकुले विष सेवन गरेपछि ‘म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक/एक बिर्को विष सेवन गरेको सञ्जुले बयान दिइन् । बर्दिवास प्रहरीका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले घटनाबारे थप विवरण संकलन र छानबिन भइरहेको बताइन् ।

Comment


Related News

Latest News

Trending News