अपडेट 
२०८१ पुष १७, बुधबार ०७:४९

सिरहाको गोलबजार नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु एक साताका लागि भ्रमण गरेका छन् । सो भ्रमण विद्यायल बन्द गरी गरेपछि विद्यार्थीहरु अध्ययनबाट वञ्चित भएका थिए ।

गोलबजार नगरपालिका वडा नम्बर ८ स्थित चोहर्वामा रहेको जनता नमुना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी भ्रमणमा निस्किएपछि ६ दिन विद्यालयको पठनपाठन नै बन्द गरेका थिए । गत हप्ता पुस १० मा विद्यालयको पठनपाठन नै बन्द गरेर भ्रमणमा निस्केका थिए ।

वडाध्यक्ष देवनारायण महतोको अगुवाईमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतो, प्रधानाध्यापक ब्रह्मदेव सिंहसहित विद्यालयका ३० जना शिक्षक र कर्मचारी भ्रमणमा गएका थिए ।

गोलबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवोध लामाले विद्यालय बन्द गरेर शिक्षकहरू भ्रमणमा गएको विषय आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘उहाँहरू भ्रमणमा गएको कुरो शिक्षा शाखा र नगरपालिकामा कुनै जानकारी छैन,’ उनले भने, ’बिनाजानकारी भ्रमणमा गएका शिक्षक र कर्मचारीमाथि कारबाही हुन्छ ।’

यता, प्रधानाध्यापक सिंहले भने नगरपालिकालाई जानकारी गराएरै भ्रमणमा निस्किएको बताए । ‘विद्यालय व्यवस्थापन समितिको निर्णय गरेरै भ्रमणमा गएका हौं,’ उनले भने । उनले भ्रमणबाट आफूहरू फर्किसकेको र मंगलबारबाट विद्यालय खुलेको बताए । यस विद्यालयमा झन्डै एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

Comment


Related News

Latest News

Trending News