अपडेट 
२०८१ पुष १८, बिहीबार ०७:२४

मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्नका लागि मधशे सरकार सहयोग गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित कारखानाको बुधबार स्थलगत निरीक्षण पछि उनले मधेश प्रदेश सरकारले कारखाना सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताए । उनले अहिले कारखानामा भइरहेको अनुसन्धान र कामबाट आफू अत्यन्त प्रभावित भएको समेत मन्त्री क्षेत्रीले बताए । मन्त्री क्षेत्रीले भने, ‘कारखानाको लागि प्रदेश सरकारले यस वर्ष छुट्याएको ५० लाख रुपैयाँ दिने प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘आउँदो वर्षको बजेटमा पनि कारखानाको लागि थप रकम छुट्याउन सरकार बचनबद्ध छ ।’ उनले कारखाना सन्चालनका लागि रहेका समस्याहरुलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रदेश सरकारले छिट्टै कृषि ऐन ल्याउन लागेको भन्दै उनले ऐन आएपछि काम गर्न झनै सहज हुने बताए । ‘कृषि ऐनको मस्यौदा हाल कृषि समितिमा गइसकेको छ,’ उनले भने, ‘त्यसपछि सदनमा जान्छ, ऐन आएपछि काम गर्न झनै सहज हुन्छ ।’ आविष्कार केन्द्रले उत्पादन गर्ने कृषि उपकरणहरुलाई किसानसम्म पु¥याउन प्रदेश र संघीय सरकारले सहयोग र सहजीकरण गर्ने भन्दै मन्त्री क्षेत्रीले विदेशीभन्दा स्वदेशी कृषि उपकरण सस्तो, भरपर्दो र गुणस्तरीय हुने भएकाले स्वदेशी कृषि औजारलाई पनि प्रोत्साहित गरिने तयार रहेको बताए ।

उनले यसका लागि केन्द्रले पनि आफ्ना उत्पादन अब किसानको खेतसम्म पु¥याएर सफल परीक्षण गर्नुपर्ने बताए । तीन दशकयता किसानलाई अनुदानमै कृषि उपकरण वितरण भइरहेको तर त्यसको प्रतिफल आउन नसकेको भन्दै मन्त्री क्षेत्रीले अब परम्परागत खेतीलाई विस्थापित गरी युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न अत्याधुनिक कृषि उपकरण किसानको पहुँचसम्म पुग्न आवश्यक भएको मन्त्री क्षेत्रीले बताए ।

केन्द्रका प्रमुख इन्जिनियर रितेश देवले मन्त्री क्षेत्रीलाई केन्द्रले आविष्कार गरेका विभिन्न उपकरणबारे जानकारी गराएका थिए । उनले कृषि उपकरण उत्पादन गर्न आयात गरिने कच्चा पदार्थमा लाग्ने भन्सार महसुल चर्को रहेकाले त्यसलाई घटाउन आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News