मधेश प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री सतीशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन मंगलबार अपरान्ह १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले बताए ।
विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेश प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोज ४ गते अन्त्य भएको थियो । जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेश सभाको बैठक नबोलाएर सरकारले संसदलाई बन्धक बनाएको आरोप लगाइरहेका बेला बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था गरेको छ । मधेश प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेको थियो ।