जनता समाजवादी पार्टी नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले १७ सदस्यीय केन्द्रीय नयाँ पदाधिकारी चयन गरेको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण गुरुङ विभागको प्रमुखमा मनोनीत भएका छन् भने उपप्रमुखमा धमेन्द्रकुमार साह र सचिवमा चिन्तन बज्राचार्य छनाेट भएका छन् ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय सचिव शैलेन्द्र साहको अध्यक्षता र महासचिव रामकुमार शर्माको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य प्रमोद साह र तारा विश्वकर्मालगायतको उपस्थितिमा बसेको बैठकले विभागको पदाधिकारी र सदस्य चयन प्रक्रिया टुङ्ग्याएको छ । विभागको बैठकले पार्टी निकट उद्योगी व्यवसायीहरूको राष्ट्रिय भेला आगामी फाल्गुनभित्र आयोजना गर्ने निर्णय गरेको छ ।
यसैगरी, कृषि, उद्योग, जलश्रोत, उर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी मैत्री वातावरण तयार गर्न अध्ययन, अनुसन्धान, छलफल, गोष्ठी, अन्तरक्रिया गर्नुका साथै उद्योग, वाणिज्य र व्यापार सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने विभागले निर्णय गरेको जानकारी सो पार्टीको सचिवालयले दिएको छ ।