चार वर्षपछि नेपाल–भारत व्यापार मुद्दाका विषयमा छलफल गर्न नेपाल–भारत अन्तर सरकारी समिति (आइजिसी) को बैठक बस्ने भएको छ।
आइजिसी बैठक ६/६ महिनामा बस्ने प्रावधान रहे पनि लामो समयपछि यो बैठक बस्न लागेको हो। आगामी पुस २६ र २७ गते काठमाडौंमा बैठक बस्ने तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिए।
‘पुस र २६ र २७ गते बैठक बस्ने निधो भएको छ,’ उनले भने, ‘मुद्दाका विषयमा आन्तरिक छलफल गर्दै छौं।’ उनका अनुसार आइजिसी बैठकमा विशेषगरि व्यापार, पारवहन तथा अनाधिकृत व्यापार नियन्त्रण लगायतका विषयमा छलफल हुनेछ। ‘व्यापारसँग सम्बन्धित कुन–कुन विषयमा छलफल गर्ने टुंगो लगाउन बाँकी छ,’ उनले भने।
चार वर्षपछि आइजिसी बैठक बस्न लागेको भए पनि यस बीचमा सह-सचिवस्तरीय नेपाल–भारत अन्तर सरकारी उपसमिति (आइजिएससी) को बैठकमा बसेको थियो।
बैठकले दुई देशबीचको वाणिज्य सन्धि पुनरावलोकन गर्न भारत सहमत भएको थियो। वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा पनि आइजिसी बैठकमा छलफल हुनेछ।