स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलित रहेको समयमा मधेस प्रदेश सरकारले समस्या समाधानकालागि सुझाव दिन समिति गठन गरेको छ ।
मधेस सरकारले समस्या समाधानकालागि सुझाव दिन गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१को केही बुँदा संशोधनयोग्य रहेको भन्दै मन्त्रीपरिषद बैठकबाट त्यसको समाधानकालागि सुझाव दिन सो समितिलाई भनिएको छ ।
समितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र वन तथा वातावरण मन्त्री त्रिभुवन साह सदस्य छन् । समितिलाई स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१का प्रावधान एवम् सोको कार्यान्वयन्यनको सिलसिलामा देखापरेका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको समस्या समाधानका उपायहरूको अध्ययन एवम् विश्लेषण गरी सुधार गर्नुपर्ने विषयमा सुझाव दिन भनिएको छ ।