अपडेट 
२०८१ पुष १९, शुक्रबार ०७:२८

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेश केन्द्रित दलहरुको मोर्चा बन्दी गर्ने अभियान चलाइरहँदा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच एकीकरण हुने चर्चा व्यापक भएको छ । सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ ।

संघीय सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टी हाल केन्द्र सरकारमा छैन । जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वमा छ । नागरिक उन्मुक्ति पार्टीले आन्तरिक विवादको कारण प्रदेश र संघीय सरकारमा सहभागी हुने अवसर गुमाएको छ । अध्यक्ष त्रिपाठीले मधेशी दलबीच मोर्चाबन्दीको पहल गरिरहँदा दुई पार्टीबीच एकीकरणका लागि गृहकार्य अगाडि बढेको छ ।

मधेश प्रदेशमा जनमत र सुदुरपश्चिम प्रदेशतर्फ नागरिक उन्मुक्ति पार्टी ‘बलिया’ रहेको दाबी गर्दै दुवै दलबीच एकता भए तराई–मधेशमा बलियो पकड हुने बुझाइ छ । मधेश प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका एकजना समानुपातिक सभासद छन् । तर उनी सरकारमा छैन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जना श्रेष्ठ र संरक्षक चौधरी पतिपत्नी हुन् । तर केही महिना पूर्वसम्म दुबैबीच बोलचाल बन्द र मुद्दामामिला समेत भएको थियो । अहिले जनमत पार्टीका अध्यक्ष राउत र उनकी पत्नीबीच सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ । गत चुनावदेखि नै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि प्रयास हुँदै आएको छ । तर दुबै दल एकीकृत हुन सकेको छैन । त्रिपाठीको अभियानप्रति चौधरी र राउत गम्भीर नदेखिए पनि उनीहरुबीच छलफल भएको छ ।

Comment


Related News