स्वास्थ्य सेवाका कर्मचारीहरुले मधेश प्रदेश सरकारले ल्याउन लागेको स्थानीय सेवा (गठन, सञ्चालन) ऐन २०८१ सम्बन्धी पहिलो संसोधन अध्यादेशप्रति असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरुले विरोधको आन्दोलनलाई निरन्तरता दिएको छ ।
जनकपुरधाममा बिहीबार स्थानीय सेवा (गठन, सञ्चालन) ऐन २०८१ सम्बन्धी पहिलो संसोधन अध्यादेशप्रति कर्मचारीले असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन् । अध्यादेशको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरुले जानकी मन्दिरदेखि मुख्यमन्त्री कार्यालयसम्म विरोध जुलुससहित प्रदर्शन गरेका छन् । स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिताले अध्यादेशले वर्षाैदेखि स्वास्थ्य सेवामा काम गरिरहेका कर्मचारीमाथि अन्याय गर्ने जानकारी दिए ।
अध्यादेश ल्याइए सिनियर कर्मचारी जुनियर र जुनियर कर्मचारी सिनियर हुने उनले बताए । उनले अध्यादेश ल्याउनुअघि नियमावली बन्नुपर्ने र विभिन्न ट्रेड यूनियन तथा सरोकारवाहरुसँग छलफल गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताए ।
हेल्थ असिस्टेन्ट संघ मधेश प्रदेशका संयोजक धीरेन्द्र यादवलेयस विषयमा मुख्यमन्त्री तथा प्रदेशका अन्य मन्त्रीहरुलाई विभिन्न संगठनहरुले पटक– पटक ध्यानाकर्षण समेत गराएको बताए । यो संसोधन जस्ताको त्यस्तै लागू भए प्रदेशको स्वास्थ्य प्रणाली उथल पुथल हुने एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका सर्लाही जिल्ला अध्यक्ष रञ्जीत यादवले बताए ।
सो विरोध कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका सर्लाही जिल्ला अध्यक्ष शुसील कुमार चौधरी, स्वास्थ्यकर्मी जनमत संघ रौतहटका जिल्ला सचिव विवेक चौधरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजमाती)का धनुषा जिल्ला अध्यक्ष मुनेश यादव, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ नेपालका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र साहनी, नेपाल जनस्वास्थ्य संघ मधेश प्रदेशका संयोजक बड़ेलाल प्रसाद साह, स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालका प्रदीप कुमार गुप्ता, नेपाल निजामति कर्मचारी मञ्चका अध्यक्ष दीपक ठाकुरलगायतकाहरुको सहभागिता रहेको थियो ।