
महोत्तरीको गौशालामा वन गस्ती गरिरहेका वन रक्षकमाथि आक्रमण गरेको छ । जिल्लाको गौशाला नगरपालिका– १० स्थित मडाहा खोलामा भइरहेको अवैध उत्खनन् रोक्न घटनास्थल पुगेका वन रक्षकहरुमाथि आक्रमण भएको छ ।
डिभिजन वन अधिकृत अजयकुमार मिश्रले गुण्डा समूहको आक्रमणमा परी सशस्त्र वन रक्षक विदुर अधिकारी घाइते भएको जानकारी दिए । नियमित गस्तीका क्रममा बिहीबार बिहान ४ बजेतर्फ घटनास्थल पुगको वन कर्मचारीले मडाहा खोला तथा तटवर्ती क्षेत्रमा अवैधरुपमा उत्खनन् भइरहेको देखेपछि एउटा स्काभेटर र ५ वटा ट्रिप्पर नियन्त्रणमा लिएका थिए ।
गस्ती कमान्डर एवम् सब डिभिजन वन कार्यालय माईस्थानका वन अधिकृत सिकिन्दर चौधरीले बताए अनुसार गाडीहरू नियन्त्रणमा लिएपछि त्यसका चालकहरू भागेर खोला पश्चिमतर्फ रहेको जय माँ जालपा ढुङ्गा गिट्टी बालुवा वासिङ सेन्टरबाट पुगेका थिए । त्यहाँबाट लगत्तै १५–१६ वटा मोटरसाइकलमा आएका समूहले वन कर्मचारीमाथि गाली गलौज र हुलहुज्जत गरेको उनले बताए । चौधरीले भने, ‘अरू चालकहरू भागे पनि हामीले ५ थान गाडी र एक जना टिप्पर चालकलाई नियन्त्रणमा लिएका थियौँ ।
समूहले बल प्रयोग गरेर ती चालकसहित सबै गाडी थुतेर लगेको थियो । प्रतिकार गर्दा सशस्त्र वन रक्षक विदुर अधिकारी घाइते हुनुभएको हो ।’ घटनाका तत्कालै जानकारी गराउँदा पनि करिब २ किमि दुरीमा रहेको इलाका प्रहरी कार्यालयबाट धेरै अबेर ३ जना प्रहरी घटनास्थल पुगेका थिए । त्यतिबेलासम्म घटना घटिसकेको चौधरीले बताए ।
एक त जाडोको रात उसमाथि हुस्सु लागेकोले हुल्याहा समूह कसैलाई पहिचान गर्न नसकेको उनले बताए । तथापि रातको बिचमा वन गस्तिले उत्खननमा संलग्न गाडीहरूको फोटो खिचेको छ । त्यसमध्ये ४ वटा गाडीको नम्बर कैद भएको उनले बताए । फोटोको आधारमा वा. ३ क. १११६ नं.को स्काभेटर तथा प्र. २–०३–००१ क. ०५९२, प्र. २–०३–००१ क. ०३९२ र प्र. २–०३–००१ क. ०५८२ नंको गाडीमाथि कारबाही गर्न लागेको उनले बताए । चौधरीले भने, “घटनाको प्रतिवेदन तयार हुँदैछ ।
त्यसपछि कारबाही प्रक्रियामा जान्छौं ।“ घटनाको जानकारीपछि जिल्ला समन्वय समितिका अध्यक्ष सुमनलाल कर्णको नेतृत्वमा गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो, डिभिजन वन प्रमुख अजयकुमार मिश्र लगायतको टोलीले घटनास्थलको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा राती वन गस्तीले नियन्त्रणमा लिएका सबैजसो गाडीहरू माँ जालपा ढुंगा गिट्टी वालुवा वासिङ सेन्टरमा फेला परेको जनाइएको छ । चालु आर्थिक वर्ष ०८१–८२ का लागि कतिपय स्थानीय तह ठेक्का प्रक्रियामा गए पनि अहिलेसम्म जिल्लाका कुनै पनि खोला उत्खननका लागि ठेक्का लागेको छैन ।