एक बिघामा लगाएको धानवाली जंगली बंगुर र निलगाइले नष्ट गरिदिएपछि उत्तरी– पश्चिमी धनुषाका एक किसान म संगको भेटमा आक्रोश पोखेका थिए– ‘सरकारले जंगली जनावर नियन्त्रण गर्न सकेन । अब, किसानहरुलाई बाघ पाल्ने अनुमति दिनु पर्दछ । हामीले निलगाई र जंगली सुंगुर मार्दा कानुन लाग्छ । बाघलाई त लाग्दैन नि ।’ यसैगरि मैले एफएम रेडियोमा संचालन गर्ने कार्यक्रममा महोत्तरी भ्रमरपुराका शिवनारायण मण्डल नामका किसानको फोन आयो– ‘सर, आब दोसर सालसँ धानके खेती नै करबै ? मैले सोधेको थिए– ‘धान खेती किन गर्नु हुन्न ? पूँजी र मिहिनेत दुवै बर्बाद गर्नलाई ।
पूर्वी धनुषाको कमला किनारका गाउँहरुको व्यथा झन् भयावह छ । एक दशकअघि कमला नदीमा आएको बाढीले नदीको धार परिवर्तन गर्दा कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका झण्डै १० हजार बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । अचेल यो जग्गामा वर्षभरि झार पात उम्रिरहन्छ । अनि झार पातमा हुन्छन्– निलगाई, सुंगुर र बांदरको स्थायी बसोवास । यी जंगली जनावरहरुले बाँकी बचेका जग्गाका वालीहरु पनि नष्ट गरिदिएपछि केही किसान खेती गर्न नै छाडिसकेका छन् ।
घाटाको वनिज किन गर्ने भन्दै अन्य किसानहरु खेती किसानी छार्ने मनःस्थितीमा पुगी सकेका छन् । यसैगरि चुरे तलका मात्र होइन, मध्य धनुषाका विदेह र हंसपुर नगरपालिकाहरुमा समेत जंगली जनावरको उत्पात निरन्तर बढ्दो छ । चुरे वन विनास भएयता जंगली सुंगुर, निलगाई, बांदरलगायतका जंगली जनावरहरु तराई झर्न थालेका छन् । तराईको समतल भूमिमा स्थायी आवास बनाएका यी जनावर हरुको संख्या र उत्पात निरन्तर बढ्दो छ । भ्रमरपुराका शिवकुमार मण्डलका अनुसार जंगली निलगाई र सुंगुरहरु वालीनाली मात्र नष्ट गर्दैनन्, एक्ला–दुक्लामाथि आक्रमण पनि गर्न थालेका छन् ।
मण्डलका अनुसार– गतवर्ष ५ मन (२०० किलो) धान उत्पादन भएको खेतमा यसवर्ष ६ पसेरी (३० किलो) मात्र धान घर पुगेको छ । बाँकी धान निलगाईले खाइदिएको थियो । जंगली जनावरहरुले बाली नाली मात्र खाइदिँदैन । निलगाईको जिउमा हुने जुम्राले मानिसहरुमा समेत संक्रमण हुन थालेको छ । निलगाईको जिउमा हुने जुम्रा (स्थानीयभाषामा अठगोरबा) मानिसको कान र नाकमा छिरेर गम्भीर विरामी बनाउन थालेको छ । जनकपुर रेल्वे स्टेशनस्थित कान उपचार केन्द्रबाट प्राप्त जानकारी अनुसार– एक वर्षभित्र सयौँ जनाको कानबाट अठगोरवा निकालिएको छ । निलगाईको जिउमा हुने उक्त परजीवी उड्न सक्छ । उडेर धान, गहुँ आदि बालीमा बस्छ । अनि वाली भित्र्याउन जाने किसानहरुको कान र नाकमा पसेर दुःख दिन्छ ।
पहाडी क्षेत्रमा बाँदर र तराईमा बाँदरसंगै निलगाई र सुंगुरले किसानको बाली नष्ट गरेको घटना नयाँ भने होइन । जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि पुस्तैनी थाकथलोबाट विस्थापित हुने समाचार निरन्तर आइरहन्छ । तर सरकारले यसको नियन्त्रणको नाममा एकथान निर्देशिका जारी गर्नु बाहेक केही गर्न सकेको छैन । पछिल्लो पटक नेपाल सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० मार्फत किसानहरुलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । बाँदर, नीलगाई, हात्ति, गैँडा, भालु, जंगली बदेल र अर्ना भैँसीलगायत १६ जनावरले बालीमा क्षति पु¥याए राहत पाइने व्यवस्था गरेको छ ।
यी वन्यजन्तुबाट मानवीय क्षति, पशु धनक्षति, अन्न भण्डारण क्षति र बालीक्षतिमा राहत दिने व्यवस्था छ, तर राहत राशि अति अल्प छ । राहत प्राप्त गर्ने प्रक्रिया झञ्झटिलो छ । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०को धारा ४ मा राहत स्वरुप उपलब्ध गराइने रकमबारे उल्लेख छ ।
धारा ४ को उपधारा ३ को (क) सूचीकृत जंगली जनावरले घरगोठमा क्षति गरेमा मूल्यांकन अनुसार बढिमा २० हजार, (ख)मा अन्न क्षति गरेमा मूल्यांकन अनुसार बढीमा १० हजार तथा (ग)मा बाली क्षति गरेमा मूल्यांकनको आधारमा एक मौसममा लगाइएको बालीको एक पटक र वर्षमा दुई पटकमा नबढ्ने गरी बढीमा दश हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था छ । उक्त क्षतिपूर्ति माग गर्न निर्देशिकामा उल्लेख गरिएको ढाँचामा सम्बन्धित डिभिजन वन कार्यालयमा माग गर्नु पर्ने व्यवस्था गरिएको छ ।
हजारौँ वर्षदेखि जंगलमा रमाउँदै आएका जंगली जनावरहरु आफ्नो सुरक्षित वासस्थान (जंगल) छाडेर गाउँ किन छिर्दै छन ? तीनै तहका सरकारसंग यसको जवाफ पक्कै पनि होलान् । कारण तीनै तहका सरकारसंग वन, वातावरण, कृषिका विज्ञ छन् । उनीहरुले सरकारलाई आवश्यक सल्लाह दिएकै होलान् ।
र पनि कृषि पेशालाई विस्थापित गर्ने गरी आएको यस विकराल समस्याबारे तीनै तहका सरकार किन मौन छन् ? सडक, नाला, पोखरी सौन्दर्यीकरणलाई मात्र विकास ठान्ने तीनै तहका सरकारले हातेमालो गरेर मुलुकमा जंगली जनावरको बढ्दो उत्पातलाई रोक्न दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना ल्याउनु आवश्यक छ । नभए उत्तरी– पश्चिमी धनुषाका एकजना किसानले दिएको सुझाव अनुसार–सरकारले किसानहरुलाई बाघ पाल्ने अनुमति दिनु पर्दछ । जसले तीनवाली फल्ने तराईको मलिलो जग्गालाई जंगलमा परिणत हुनबाट रोक्ने छ ।