अपडेट 
२०८१ पुष २०, शनिबार २०:४२

जनकपुरधाम र वीरगञ्जमा हुने जय ट्रफी (एलिट कप)को तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म हुन लागेको दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले यो प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । प्रधानमन्त्री कपमा शिर्षका ४ टोलीलाई समावेश गरेर यो प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि यो प्रतियोगितलाई थप विस्तारित बनाइने खडकाले बताए ।

पूर्वाधार तथा आयश्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गर्न लागेको बताउँदै खडकाले तिनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।

प्रतियोगिताको उद्घाटन खेल जनकपुरधाममा मधेस प्रदेश र बागमती प्रदेशबिच हुनेछ भने वीरगञ्जको नारायणी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल खेलिनेछ ।

खेलहरू राउन्ड रोबिन आधारमा सञ्चालन हुनेछ, जसबाट शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ १ देखि ३ गतेसम्म हुनेछ ।

प्रतियोगिता खेल्ने चारै टिमले आफ्नो अन्तिम १५ जनाको टोली घोषणा गरेका छन् । त्रिभुवन आर्मी क्लबले शनिवार बिहान टोली घोषणा गरेसँगै चारै टोलीले आफ्नो स्क्वायड घोषणा गरेको हो ।

त्रिभुवन आर्मी क्लब विनोद भण्डारीको कप्तानीले खेल्दै गर्दा नेपाल पुलिस क्लब आरिफ शेख, मधेस प्रदेश हरि शङ्कर शाह र बागमती प्रदेश सन्दीप लामिछानेको कप्तानीमा खेल्दै छ ।

Comment


Related News

Latest News

Trending News