संघीय गठबन्धन सरकारले जनअपेक्षा अनुसार काम गर्न असफल भएको बताउँदै एमाले र नेपाली कांग्रेसका नेताहरुले चर्को आलोचना गरिरहेको बेला नेपाली कांग्रेसका नेता समेत रहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बीचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जनतामा जागेको दाबी गरेका छन् ।
‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ ’ पार्टी कार्यकर्तासँगको भेटमा शनिबार बर्दिवासमा उनले भने, वर्तमान सरकार बने यता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको छ ।’ स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने उपप्रधानमन्त्री सिंहले बताए ।
‘सरकार ढाल्ने र बनाउने खेल लामो समय चलिरहँदा देशको समग्र विकासमा बाधा पुगेको छ’ उनले भने, कांग्रेस र एमाले गठबन्धनको सरकार आलोपालो सहमति अनुसार पूरा समय चल्नेछ । तर नेपाली कांग्रेसले आगामी चुनाव एक्लै लडने उनले बताएका छन् । उनले त्यसका लागि संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको उनले प्रष्ट्याए । ‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ, सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’
सरकारको नेतृत्व गरिरहेको एमालेले पनि आलोपालो सहमति अनुसार नै सरकारले कार्यकाल पूरा गर्ने बताए पनि चुनाव एक्लै लड्ने बताउने गरेको छ । कांग्रेस र एमाले गठबन्धनमा विवाद नदेखिए पनि विश्वासको संकट हटिसकेको छैन् । सरकारले गतिलिन नसकेको आरोप सरकार बाहिर रहेका दुबै पार्टीका नेताहरुले लगाउने गरेका छन् । तर मन्त्रीहरुले सरकार जनतालाई अनुभूति हुने कामहरु गरिरहेको दाबी गरिरहेका छन् ।
कांग्रेस र एमालेका मन्त्रीहरुले पार्टी कार्यकर्ताहरुलाई सरकारको बचाउ र कामको प्रशंसामा सकृय हुन निर्देशन दिने गरेका छन् । तर त्यो प्रभावकारी हुन सकेको छैन् । मन्त्री सिंहले समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए ।
कांग्रेस महोत्तरीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको सो भेंटघाट कार्यक्रममा मन्त्री सिंहले सरकारको उपलब्धिमाथि बढी जोड दिए । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्रीसमेत रहेका सिंहले सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको दाबी गरे ।
सबै पक्षको सहमतिमा संविधान संशोधन हुनुपर्ने धारणा राख्दै उनले भने, वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएकाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गरिनेछ । सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहेको बेला तराई मधेश केन्द्रित र पहिचान, अधिकारका लागि आवाज उठाउने दलहरु सशंकित बनेका छन् ।
संविधान संशोधनका लागि जोडदार आवाज उठाउने दलहरु अहिले थ्रेसहोल्ड बढाउने , समानुपातिक चुनाव प्रणाली हटाउने आशंका व्यक्त गर्दै मोर्चा बन्दी गर्ने अभियान थालेका छन् । तर मन्त्री सिंहले संविधान संशोधनमा सबै दलहरुसित सहमति गरिने विश्वास दिलाए । ‘सबै दलहरुसितको व्यापक छलफलको आधारमा मात्र संविधान संशोधन गरिनेछ’ उनले भने, संविधानमा देखिएका कमजोरीहरुलाई सुधार गर्न संशोधन आवश्यक रहेको छ ।
महोत्तरी जिल्ला सभापति नागेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरुले सरकारको काम कारबाहीको आलोचना गरे । कार्यकर्ता भेंटघाटको प्रचार व्यापक गरिए पनि अपेक्षा गरिए अनुरुपको सहभागिता नभएको कार्यकर्ताहरुले बताए । मन्त्री सिंह सर्लाहीमा भवन उद्घाटन कार्यक्रममा जाने क्रममा बर्दिबासमा आयोजित कार्यकर्ता भेंटघाटमा सहभागी भएका थिए । मन्त्री सिंहले सर्लाहीमा पनि सरकार टिक्ने र सहमतिबाट नै संविधान संशोधन गरिने दोह¥याए । उनले कार्यक्रममा सरकारको बचाउ गरे ।