२०८१ पुष २२, सोमबार ०७:३७

संविधान संशोधनको विषयमा राष्ट्रव्यापी बहस चलिरहेको बेला आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधान खारेज हुनुपर्ने माग गरेका छन् ।

सिंहदरबारस्थित आजपा दलको कार्यालयमा आइतवार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, कार्यान्वयन नै नगरिकन संशोधनको कुरा गर्नु गलत हो । संविधान संशोधन नभइ अब खारेज नै गर्नुपर्छ । ‘प्रहरी ऐन अलपत्र छ, निजामती ऐन बेवारिसे छ ’ उनले भने, ‘संविधान कार्यान्वयन सम्बन्धी कानुन सरकारले ल्याउन न चाहेपछि संविधानको औचित्य समाप्त भएकोछ ।

‘संविधान अनुरूपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ,’ साहले भने, ‘संविधानमा भएका मौलिक हकहरु कार्यान्वयन गर्ने कुनै कानुन नै सरकारले बनाएनन् । यसरी सरकारलाई संविधान कार्यान्वयनमा कुनै चासो नै छैन ।’ संविधाननिर्माण पनि कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेको उल्लेख गर्दै उनले भने ‘संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताहरूले संशोधनको कुरा गर्नु भनेको अपराध हो ।’

मुलुक र जनताको अवस्था परिवर्तन वर्तमान व्यवस्थाबाट नहुने ठोकुवा गर्दै अध्यक्ष साहले यस्तो ‘खिचडी व्यवस्था’ खारेज गर्नुको विकल्प नभएको बताए । दलाल दलतन्त्र, लुटतन्त्रले आम नागरिक निराश भएको बताउँदै उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्था ल्याउनुपर्नेमा जोड दिए । संविधान जारी भएको संविधान सभा बैठकलाई साहले वहिष्कार गरेका थिए ।त्यस बखत उनी नेकपा माओवादीबाट सभासद थिए ।

Comment


Related News

Latest News

Trending News