अपडेट 
२०८१ पुष २२, सोमबार ०७:४३

सिराहा र धनुषा जोड्ने कमला पुलको पूर्वपट्टि निर्माणकार्य पुनः थालिएको छ । पुलको डिजाइन र निर्माण दुबै काम गर्दै आएको ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सले आगामी बर्खा लाग्नुअघि काम सक्ने गरी पुनर्निर्माण थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायका अनुसार बिल्डर्सलाई अन्तिमपटकका लागि आगामी असारसम्मको म्याद थप गरिएको छ । कमला पुलको पूर्वपट्टि भासिएको दोस्रो पायाको ठाउँमा डिजाइन परिवर्तन स्वीकृत भएपछि गत आर्थिक वर्ष ०८०/८१ मा नयाँ पाया थप गरी दुईवटा पु¥याइएको उनले जानकारी दिए । ‘त्यसमध्ये एउटाको सुपरस्ट्रक्चरको निर्माण थालनी गरिएको हो,’ उनले भने। उनका अनुसार कुल १२ वटा स्पान र १३ पिल्लर रहेको पुलको पूर्वपट्टि भासिएको पायाको डिजाइन परिवर्तनपछि तीनवटा पिल्लरको सट्टा एउटै पिल्लर बनाएर १२ वटा फलामको बिममा दुईवटा स्ल्याब राखिनेछ ।

सो नदीमा ४६९.२ मिटर लामो पुल बनाउन ३१ जेठ ०६८ मा भएको सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न गर्ने म्याद पटक–पटक थप हुँदै अन्तिमपटक भएको सम्झौताअनुसार ३० असार ०८० तोकिएको थियो। मूल्य अभिवृद्ध कर (भ्याट)सहित कुल २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का लिएको पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र पारेसँगै पप्पु कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनीले गर्दै आएको थियो। नदी नियन्त्रण र पहुँच मार्गबाहेक पुलको अन्तिम चरणको निर्माण चलिरहेका बेला १७ असार ०७८ मा कमलामा आएको बाढीले पुलको सिराहातर्फको दोस्रो पाया र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पायासमेत भासिएको थियो। बाढीले भासिएको धनुषातर्फबाट तेस्रो पायाको डिजाइन पनि विभागको पुल महाशाखाबाट स्वीकृत भएर आइसकेकाले निर्माण कम्पनीले त्यो कामसमेत आगामी माघदेखि थालनी गर्ने जनाएको छ ।

१५ फागुन ०७९ मा तत्कालीन उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कमला पुलको स्थलगत निरीक्षण गरेको करिब दुई महिनापछि २४ वैशाखमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र बिल्डर्सबिच ०८१ असार मसान्तसम्म भासिएको पुलको पुनः निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। पुलमा बाढीले पु¥याएको क्षतिबापत् बीमा कम्पनीबाट पाउनुपर्ने आठ करोड रकम नपाएपछिको विवाद काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले समयमा पुनः निर्माणको काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ ।

पुल निर्माण सुस्त हुँदा आवतजावतमा कठिनाइ भएपछि सिराहा नगरपालिकाले बाँसको अस्थायी पुल निर्माण गरी गत १७ कात्तिकदेखि सञ्चालनमा ल्याएको छ । १३ वर्षसम्म पनि निर्माण नभएपछि नयाँ कमला पुल निर्माण संघर्ष समितिसम्बद्ध सिराहा र धनुषाका १० जना युवाहरू ४ भदौदेखि मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन गरेका थिए । अनशनको चार दिनपछि ७ भदौमा प्रदेश सरकारले नयाँ पुल निर्माणका लागि आगामी आर्थिक वर्ष ०८२/८३ मा बजेट विनियोजन गर्नेसहित चालु आर्थिक वर्षको मंसिरभित्र पुलको डिपिआर बनाउने सहमति भए पनि नयाँ पुलको डिपिआरको विषयमा जानकारी नरहेको सूचना अधिकारी रायले बताए ।

सहमतिअनुसार नयाँ पुलका लागि आव ०८२/८३ मा संघीय सरकारबाट बजेटका लागि पहल गर्ने, संघीय सरकारबाट सम्भव नभए त्यसका लागि मधेश प्रदेश सरकारको स्रोतबाट बजेट व्यवस्थापन गर्ने उल्लेख थियो ।

Comment


Related News

Latest News

Trending News