केही महिना अघिसम्म सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मुख्य सहयात्री दल नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध जथाभावी बोलेको भन्दै गठबन्धन दलको बैठकबाट लगाम कसे पनि बोल्न छाडेका छैनन् । जनमत पार्टीका अध्यक्ष राउतले मधेश सरकारलाई कांग्रेस– एमालेले घेराबन्दी गर्न खोजेको भन्ने अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याएपछि अहिले मधेश प्रदेशसभाको बैठकमा समेत चर्चाको विषय बनेको छ ।
लामो समयको अन्तरालमा जनकपुरधामस्थित प्रदेशसभामा मंगलबार बसेको बैठकमा सत्ता गठबन्धन दल र प्रतिपक्षी दलका सांसदहरुले प्रतिनिधिसभा सदस्यसमेत रहेका जनमतका अध्यक्ष राउतले गरेको टिप्पणीप्रति गम्भीर रुपमा लिएको देखिएको छ । उनको टिप्पणीले गर्दा मधेश प्रदेशको सरकारलाई समेत गम्भीर प्रभाव पर्न सक्ने सम्भावनासमेत रहेको सत्तागठबन्धनका मुख्य दलका नेताहरुको आसयले पुष्टि संगै मुख्यमन्त्रीको राजीनामाको मांगलाई टेवा पु¥याएको छ ।
मधेश प्रदेश सरकारमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री कृष्णप्रसाद यादवले जनमत पार्टीका अध्यक्ष राउतले काठमाण्डुमा बसेर प्रदेश सरकारलाई नियन्त्रित गर्ने प्रयास गर्न खोजेको आरोप लगाएका छन् । नेता यादवले एक दलको केन्द्रीय अध्यक्ष भएर प्रदेश सरकारलाई नियन्त्रण गर्ने प्रयास गर्नु गलत नियत रहेको टिप्पणी गरे । नेता यादवले मधेशमा कांग्रेस– एमालेप्रति आरोप लगाउने अधिकार जनमत पार्टीलाई नभएको बताए । जनमतले लगाएको आठबुँदे गम्भीर आरोपको खण्डन गर्दै ती आरोपहरु पुष्टि गर्न चुनौतीसमेत उनले दिए ।
पूर्व मन्त्री यादवले राउतले गठबन्धन भित्रै रहेका दललाई भ्रष्ट पार्टी, दलाल पार्टीको अपरिपक्वता प्रस्तुत गरेको आरोप लगाए । उनले भने ‘चले ना आबे तऽ आंगन टेढ’ आफै गर्न नसक्ने अनि अरुमाथि औँला उठाउने ? उनले अघि थप्दै भने ‘तपाईले कुन आधारमा कुन प्रमाणको बलमा कांग्रेस एमाले भ्रष्ट पार्टी हो, सरकारलाई घेरावन्दी गरेको भन्नु भयो म राउतजीलाई प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।’
त्यस्तै सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशका संसदीय दलका उपनेता उपेन्द्र महतोले जनमतका अध्यक्ष राउतले सामाजिक सञ्जालमा गरेको टिप्प्णीप्रति आपत्ति जनाए । उनले प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकको क्रममा उपनेता महतोले राउतको अभिव्यक्ति हास्यास्पद रहेको बताए । उन भनेले मधेशमा जनमत पार्टीको मुख्यमन्त्री रहेको छ ।
सो पार्टीका अध्यक्ष राउतले सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्रीलाई काम गर्न नदिएको गुनासो सामाजिक सञ्जालमा गरेका थिए । सो विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहलाई सांसद महतोले भने, ‘तपाईं आफ्नो अध्यक्षलाई भन्नुस्, प्रदेश हामीलाई चलाउनु दिनुस् ।’