अपडेट 
२०८१ पुष २५, बिहीबार ०७:४०

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेशी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कमी नआएको बताएका छन् ।

मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै आइरहेको पनि उनले बताए । जनतासँग जसपा नेपाल आधार भूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कञ्चनरूपमा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए ।

मधेश आन्दोलनका बेलामा नागरिकता समस्याको आंशिक समाधान भए पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको पनि उनले बताए ।२०४६ को परिवर्तनपछि ३५ वर्षमा ३७ सरकार बने पनि सुशासन, गरिबी र बेरोजगारी हटाउनेतर्फ कुनै सम्भावना ल्याउन नसकेको यादवको आरोप लगाए ।

जसपा नेपालका अध्यक्ष यादवले बिचौलिया र कर्मचारीतन्त्र मिलेर मुलुक चलाउन खोजेको आरोप लगाए । सरकारको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्टले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाउँदै यादवले शिक्षा, कृषि, उद्योग, उत्पादन सबै क्षेत्रलाई पछिल्लो ३५ वर्षमा धराशयी बनाइएको आरोप पनि लगाए ।

पश्चिम नेपालबाट भारतको उत्तर प्रदेशमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेट्दै सप्तरी आएका अध्यक्ष यादवले भारतीय स्वतन्त्रता आन्दोलन र समाजवादी आन्दोलनमा सप्तरीको योगदानबारे बोले । नेपालमा राणकालीन समयमा भारतीय स्वतन्त्रता आन्दोलनमा सघाउ पु¥याउन कुसहाघाट क्याम्पको चर्चा गर्दै अध्यक्ष यादवले हनुमाननगर जेल काण्डमा थुनिएका भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियालगायत नेतालाई मुक्त गराएको विषय पनि उनले स्मरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News