आमसञ्चार प्राधिकरण मधेश प्रदेशले धनुषाका पत्रकारहरूको लागि साइबर सुरक्षा र एआई सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रमले पत्रकारहरूलाई साइबर सुरक्षाका महत्वपूर्ण पक्ष र एआइ प्रविधिको सकारात्मक र नकारात्मक प्रभावबारे व्यापक रुपमा छलफल गरेको छ । सो कार्यक्रममा पत्रकारिता र प्रविधिका क्षेत्रका विशेषज्ञ जीवन भण्डारी र प्रकाश मैनालीले साइबर सुरक्षा र एआइको क्षेत्रमा भएका नवीनतम विकासहरू र तिनका पत्रकारितामा प्रभावबारे वक्ताहरुले बोलेका थिए ।
पत्रकारहरूले आगामी समयको लागि आफूलाई सुसज्जित बनाउन र साइबर आक्रमण र प्रविधिको दुरुपयोगबाट जोगिन आवश्यक रहेको भन्दै सचेतसमेत गराइएको थियो । गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले इच्छाशक्ति भएपछि कुनैपनि कार्य सम्भव छ । ६ वर्षसम्म हुन नसकेको शिक्षा नीति मैले मन्त्रीको पदमा रहेका दुई महिनामा बनाएको बताए । उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिहरूको उल्लेख गर्दै प्रदेशका पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमासहित अन्य विभिन्न योजनाहरूको सुरुवात गरिसकेको जानकारी दिए ।
मन्त्री लेखीले आगामी योजनाबद्ध कामहरूको बारेमा बताए । उनले पत्रकारहरूको हकमा विभिन्न सुविधाहरू र योजनाहरू बनाउनका लागि आफ्नो मन्त्रालय सक्रिय रहेको उल्लेख गरे । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता तालिम, पत्रकारहरूको व्यावसायिक विकास, बीमा कार्यक्रम र जिम्मेवार पत्रकारिताको लागि प्राधिकरणले निरन्तर रूपमा कार्य गर्दै आएको जानकारी दिए ।