२०८१ पुष २५, बिहीबार १४:५९

जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि एक इनिङग्स र ३५ रनको सानदार जित निकालेको छ।

वीरगञ्जमा बिहीबार घरेलु टोलीलाई दोस्रो इनिङग्समा ९४ रनमै अलआउट गरेपछि पुलिसले आफ्नो दोस्रो इनिङग्स ब्याटिङ गर्नुअघि नै जित निकालेको हो।

दोस्रो इनिङग्समा मधेशका लागि विशाल पटेलले २७ रन र मयन यादवले २२ रन बनाए। अरु ब्याटर सस्तैमा आउट भएका थिए।

बलिङमा पुलिसका स्पिनर कुशल भुर्तेलले ५ विकेट लिन सफल भए। उनले ४.२ ओभरमै ५ विकेट लिएपछि मधेश सस्तैमा समेटियो। कुशल बाहेक गुल्सन झाले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे।

त्यसअघि पुलिसले पहिलो इनिङग्समा ४ विकेटको क्षतिमा २५८ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। मधेश भने पहिलो इनिङग्समा १२९ रनमै अलआउट भयो। जसका कारण पुलिसले पहिलो इनिङग्समै १२९ रनको अग्रता लिएको थियो।

पहिलो इनिङग्समा पुलिसका लागि कुशल भुर्तेलले ६३ रन बनाए भने दिलिप नाथले ४० रन, अमृत श्रेष्ठले ३५ रन, कप्तान आरिफ शेखले नटआउट ४० रन र शंकर रानाले नटआउट ३१ रन बनाए। बलिङमा मधेशका हरिशंकर साहले २ विकेट लिए।

बुधबार पहिलो दिन टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेश लञ्चपछि ब्याटिङ नचल्दा १२९ रनमा अलआउट भयो।

मधेशका लागि ओपनिङ ब्याटर मयन यादवले ५९ रन जोडे भने निरज यादवले २९ रनको योगदान गरे। मयनले बागमतीविरूद्धको अघिल्लो खेलमा शतक प्रहार गरेका थिए।

अभिषेक तिवारीले नटआउट १७ रन जोड्दा मधेशका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो इनिङग्सको बलिङमा पुलिसका गुल्सन झाले ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिन सफल भए। दुवै इनिङग्समा गरी कुल ७ विकेट र पहिलो इनिङग्समा ६३ रन जोडेका भुर्तेल खेलको प्लेयर अफ दि म्याच भए।

अघिल्लो खेलमा पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए। जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पुलिसले ४० अंक जोडेको छ भने दोस्रो स्थानको मधेशको २१ अंक छ। अघिल्लो खेलमा १५ अंक जोडेको पुलिसले दोस्रो खेलमा जित निकालेसँगै २५ अंक जोड्न सफल भयो। मधेसले भने दोस्रो खेलमा ६ अंक मात्र पायो।

प्रत्येक ५० रन, प्रत्येक विकेट, पहिलो इनिङग्सको अग्रता, जित/बराबरीको आधारमा अंक निर्धारण हुन्छ।

Comment

Related News

Latest News

Trending News